काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा प्रमुख वित्तीय सूचकमा छलाङ मारेको छ ।

संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा ८४.६२ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा संस्थाले खुद नाफा ८ करोड १७ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाको खुद नाफा ४ करोड ४२ लाख रुपैयाँमा सीमित थियो ।

अघिल्लो वर्ष ३० लाख ७३ हजार रुपैयाँमा सीमित सञ्चालन मुनाफामा भारी छलाङ मार्दै संस्थाले यो वर्ष ४ करोड ११ लाख रुपैयाँ पु¥याउन सफल भएको छ । अघिल्लो वर्ष २ करोड ३४ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानीमा पनि मनग्य प्रगति गर्दै संस्थाले समीक्षा अवधिमा १६ करोड ७ लाख रुपैयाँको उचाइमा पुर्याउन सफल भएको छ ।

सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीमा देखिएको प्रगतिले संस्थाको व्यवसाय विस्तार निकै आक्रामक देखिन्छ ।

संस्थाले अघिल्लो वर्षको तुलनामा ३३.१३ प्रतिशतले वृद्धि गर्दै रिजर्बको आकार १० करोड १० लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष रिजर्बको आकार ७ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २१ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ करोड ३ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी ९.९२ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ८७.५३ रहेको संस्थाको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४९४.४२ रुपैयाँ रहेको छ । संस्थाको पीई अनुपात १०.०९ रहेको छ ।