काठमाण्डौ । नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर किन्ने घोषणा गरेका त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले ३७ लाख ५ हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३७ करोड ५ लाख मूल्य बराबरको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ४ गते शेयर यो कम्पनीको सेयर खरीदको घोषणा गरेका थिए । यो कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ। 

आयोजनाले दोस्रो पटक सार्वजनिक शेयर निष्काशन नहुँदासम्म अग्रिम रुपमा गरिएको लगानीको प्रचलित ब्याज रकम बराबरको बोनस शेयर दिने बताइएको छ।

त्रिशुली जलविद्युत कम्पनी लिमीटेड सन् २०११ मा स्थापित एक पब्लिक कम्पनी हो । 

यो कम्पनी नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमीबाट संयुक्त रुपमा प्रवद्र्धित हो । 

यो आयोजनाको निर्माण लागत ८ अर्ब २२ करोड हुने अनुमान गरिएको छ ।

कुल लागतमा नवील बैंक, एचआइडिसिएल र नेपाल बैंकले कन्सोर्टियम मोडलमा ७० प्रतिशतले हुन आउने ५ अर्ब ७६ करोड लगानीको प्रतिबद्धता जनाइसकेका छन् ।

यो कम्पनीमा विद्युत प्राधिकरणको ३० प्रतिशत, नेपाल टेलिकमको ३० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, नूवाकोट र रसुवाका आयोजना प्रभावितको १० प्रतिशत, विद्युत प्राधिकरण र नेपाल टेलिकमका कर्मृचारीका लागि ५ प्रतिशत, रसुवा र नूवाकोटका फाइनान्सियल इन्स्टिच्यूटको ५ प्रतिशत लगानी रहनेछ ।