-हरि लामिछाने 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण दुई देशबीच रहीआएको ऐतिहासिक सम्बन्धलाई २१ औँ शताब्दीअनुकूल बनाउन कोशेढुंगा हुने विश्वास व्यक्त गरिएकोे छ । 

समृद्धिको बाटामा अगाडि बढेको नेपाल र विश्वको दोस्रो अर्थतन्त्रबीचको सम्बन्धले आर्थिक क्षेत्रमा नयाँ उचाइ लिने गरी तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव शंकरदास वैरागीले भ्रमणले समृद्धिका विषयलाई सफल बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमणको तयारी गरिएको छ ।” द्विपक्षीय सहयोगलाई अझ घनीभूत तथा फराकिलो बनाएर लैजाने मुख्य उद्देश्यसहित भ्रमण हुन लागेको सचिव वैरागीले जानकारी दिनुभयो । 

भ्रमणका क्रममा जलस्रोत, ऊर्जा, सिमेन्ट, पश्मिनालगायत व्यावसायिक विषयलाई अगाडि बढाइनेछ । चीनमा रहेको नयाँ सरकार तथा नेपालमा शान्ति र स्थिरतापछिको बनेको सरकारका प्रधानमन्त्रीको भ्रमणले आर्थिक क्षेत्रमा नयाँ उचाइ लिने बताउँदै सचिव वैरागीले भन्नुभयो, “ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कभित्र रहेर सडक मार्ग, रेल मार्ग, सिँचाइलगायत सबै विषयलाई समेटिने छ ।” 

प्रधानमन्त्री ओलीको अघिल्लो पटकको भ्रमणमा भएका सम्झौताको समीक्षा यस पटक हुनेछ । उहाँले दुई देशबीच रहीआएको ऐतिहासिक सम्बन्धलाई २१ औँ शताब्दीअनुकूल बनाइने छ भन्नुभयो । 

द्विपक्षीय भेटवार्ताका क्रममा कोशी आर्थिक, गण्डकी आर्थिक र कर्णाली आर्थिक करिडोरका सम्बन्धमा भएका घोषणालाई सम्झौतामा रुपान्तरण गरिने छ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट खाद्यान्न ढुवानीका निम्ति आठ सीमा नाका खोल्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनाका साथै केरुङ–काठमाडौँ रेलमार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, रसुुवागढी–केरुङ र तातोपानी–जाङ्मुमा ‘नेपाल–चीन मैत्रीपुल’ निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । तिब्बतबाट खाद्यान्न ढुवानी गर्ने तथा नेपालबाट तिब्बततर्फ मालसामान निर्यात गर्ने प्रयोजनका निम्ति रसुवाको रसुवागढी, हुम्लाको हिल्सा तथा बझाङको उरिपास, दार्चुलाको तिंकर र ताप्लेजुङको तिप्लापासमा दुई दुई व्यापार नाका खुल्नेछन् । 

परराष्ट्र मामिलाविज्ञ डा राजन भट्टराई प्रधानमन्त्री ओलीको भारत भ्रमण अत्यन्त महत्वपूर्ण र ऐतिहासिक हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “मुलुकको समृद्धि र विकासका लागि प्रधानमन्त्रीको यस पटकको भ्रमणले नयाँ उचाइ लिनेछ ।” 

नेपालको प्राथमिकताका क्षेत्रमा आधारित रहेर विकासका विभिन्न विषयमा समझदारी हुने उल्लेख गर्दै डा भट्टराईले प्रधानमन्त्रीको अघिल्लो भ्रमणमा भएका सम्झौतालाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले मुलुकको आवश्यकताअनुरुप आपसी सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । 

भ्रमणको दौरानमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चीन फिङसँग शिष्टाचार भेट तथा प्रधानमन्त्री लि खछ्याङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । त्यस्तै प्रधानमन्त्री ओलीले व्यापारिक समुदायलाई सम्बोधन गर्नुहुनेछ । उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय स्कूल विभागले आयोजना गर्ने ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा प्रवचन दिने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी, गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, सांसद, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनुहुनेछ ।