काठमाण्डौ । संकटग्रस्त अवस्थामा रहेको ललितपुर फाइनान्सको खूद मुनाफा ११३ प्रतिशतले बढेको छ । तर, यो कम्पनीले प्रतिसेयर आम्दानी भन्दा प्रतिसेयर नेटवर्थ कम रहेको विवरण प्रकाशन गरेको छ । 

जगेडाकोष ऋणात्मक हुनु र खराब कर्जाको अनुपातले डाँडा काटेपछि खूद नाफा र खूद ब्याज आम्दानीमा राम्रो प्रगति हुँदा समेत यो कम्पनीको केही सूचक अनौठा देखिएका हुन् । 

अघिल्लो आर्थिक वर्षमा ५ करोड ८७ लाखमा सीमित यो कम्पनीको नाफा आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म बढेर १२ करोड ५३ लाखको उचाईमा पुुगेको हो । 

व्यवसाय बिस्तारमा आक्रामक बनेको कारण खूद ब्याज आम्दानीतर्फ समेत यो फाइनान्सले निकै ठूलो फड्को मारेको छ । खूद ब्याज आम्दानीतर्फ यो फाइनान्सले १५ गुणा भन्दा बढीले फड्को मारेको हो । अघिल्लो वर्षको चौथो त्रैमाससम्म २१ लख १५ हजार रहेको खूद ब्याज आम्दानी यो वर्ष ३ करोड ४४ लाखको उचाईमा पुुगेको छ । 

अघिल्लो वर्ष १८ करोड ६६ लाख संचालन घाटामा रहेको यो कम्पनीले समीक्षा अवधिमा १ करोड ४८ लाख संचालन नाफा आर्जन गर्ने सफलता पाएको छ । 

खूद नाफा, खूद ब्याज आम्दानीतर्फ गतिलो फड्को मारे पनि यो फाइनान्सको जगेडा कोष भने अझै ऋणात्मक नै छ । अघिल्लो वर्ष १८ करोड ७७ लाख ऋणात्मक रहेको कोष यो वर्ष १० करोड ५० लाख ऋणात्मक रह्यो । 

यो फाइनान्सले कर्मचारी खर्च र अन्य संचालन खर्चमा पनि कटौति गर्ने सफलता पाएको देखिन्छ । यो अवधिमा ललितपुर फाइनान्सको प्रति सेयर आम्दानी ६६.७० रुपैयाँ, प्रति सेयर नेटवर्थ ४४.१० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९.२५ रुपैयाँ कायम भएको छ । 

ललितपुर फाइनान्सको निस्क्रिय कर्जाको अनुपात ७५.२१ प्रतिशतबाट बढेर ९९.४० प्रतिशत पुुगेको छ । यसको अर्थ यसले प्रवाह गरेका लगभग सबै कर्जा नै नउठ्ने अवस्थामा रहेको भन्ने हो।