काठमाण्डौ । दुई महिला र उनीहरुका दुई कुकुरलाई झण्डै पाँच महिनापछि प्रशान्त महासागरबाट अमेरिकी नौसेनाले उद्धार गरेको अधिकारीहरुले बताएका छन्।

जेनिफर एपेल र टाशा फुईबा हवाईबाट डुंगामा टहिटीसम्म पुग्नका लागि निस्किएका थिए तर प्रतिकूल मौसमले उक्त डुंगाको इन्जिन विग्रियो। त्यसपछि त्यो डुंगा त्यत्तिकै प्रशान्त महासागरमा तैरिरहेको थियो।  झण्डै पाँच महिना उनीहरुले प्रशान्त महासागरमा सोही डुंगामा बिताएका थिए।

जापानको झण्डै १५०० किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा उनीहरुको डुंगा तैरिरहेको थियो। एउटा माछा मार्ने डुंगाले उनीहरुलाई देखेपछि अमेरिकी अधिकारीहरुलाई त्यसबारे जानकारी गराइको थियो।

"गत मे मा यात्रा थालेका उनीहरुले शुरुवातमा वायुको गति लगायतको सहयोगमा गन्तव्यमा पुग्ने ठानेका थिए," अमेरिकी नौसेनाको सेभेन्थ फ्लीटले एक वक्तव्यमा बताएको छ।

"यात्रा थालेको दुई महिनापछि जब उनीहरुले टहिटी पुगिन्छ भनेर ठानेको समय निकै गुज्रियो त्यसपछि मात्र उनीहरुले सहयोगका लागि अपिलहरु पठाउन थाले," उक्त वक्तव्यमा भनिएको छ।
 
ती दुई महिलाले दैनिक रुपमा सहयोगका अपिलहरु पठाइरहेको तर उनीहरुले मागेको सहयोगका सिग्नलहरु उनीहरु चढेको डुंगा नजिक कुनै तटीय स्टेशन वा अन्य डुंगा वा पानीजहाज नभएका हुँदा कसैले टिप्न नसकेको अमेरिकी नौसेनाले जनाएको छ।

अक्टोबर २४ मा भने एक ताइवानी माछा मार्ने डुंगाले उनीहरु चढेको डुंगा तैरिरहेको देखेपछि अमेरिकी प्रशान्त क्षेत्रको गुआमस्थित अधिकारीहरुलाई खबर गरिएको थियो।

सोही क्षेत्रमा रहेको 'दि यूएसएस एसल्याण्ड' जहाजले भोलिपल्ट बिहानै उनीहरुलाई उद्धार गरेको थियो। "उनीहरुले हाम्रो ज्यान बचाए," एपेलले भनिन्। होनुलुलुका ती दुई महिला र ‍उनीहरुका दुई कुकुरले डुंगामा त्यति लामो समयसम्म पानी शुद्ध पार्ने वाटर प्यूरिफायरको मद्दतबाट पानी पिएर तथा पास्ता र ओटमिल जस्ता सुख्खा खानेकुरा खाएर ज्यान बचाएका थिए।

बीबीसीबाट साभार

तस्विर स्रोत : गेट्टी इमेज र इपीए