काठमाण्डौ । प्रहरीको धरपकडबाट सेयर लगानीकर्ता दवाब समूह डराएको छ । 

यो समूहले जारी आन्दोलन स्थगनको निर्णय गरेको हो ।

रिले अनसन बस्न नेपाल स्टक एक्सचेञ्जको मुख्य गेट पुग्ने क्रममा मंगलबार यो समूहका अध्यक्ष हरि ढकाल, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र अग्रवाल, महासचिव नयन बास्तोलासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

उनीहरुलाई दिनभर प्रहरी कार्यालयमा राखेर साँझ छाडिएको थियो । 

प्रहरीले पक्राउ गरी आफ्ना नेताहरुलाई रिहा गरेको भोलिपल्ट बसेको दवाब समूहको बैठकले अर्थमन्त्री, उनका सल्लाहकार, धितोपत्र बोर्ड, नेप्से लगायतका निकायप्रति तीव्र आक्रोश पोख्दै लगानी सम्मेलनलाई दृष्टिगत गरी आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । 

बैठकपछि जारी विज्ञप्तिमा दवाब समूहले आफ्ना ३२ बुँदे माग पूरा गराउन दवाब दिने उद्देश्यले संचालन गरिएको आन्दोलनमा दमन गरी सरकार, नेपाल धितोपत्र बोर्ड र नेप्सेका अधिकारीहरुले एफपीओ, अनलाईन, बैंकलाई ब्रोकर लाईसेन्स नदिने नियतका साथ गरेको भ्रष्टाचार जस्ता आफ्ना काला कर्तुतहरु ढाकछोप गर्ने अस्त्रको रुपमा प्रयोग गर्ने प्रयास गरेका आरोप लगाइएको छ । 

‘दुई महिना अघिको मागलाई लगानी सम्मेलन भाँड्ने षडयन्त्र भनी हामीलाई बदनाम गर्ने दुष्प्रयास भएकोमा खेद ब्यक्त गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ–‘शान्तिपूर्ण तालाबन्दी र अनशनमा प्रहरी दमन गराई ठूलो अप्रिय घटना गराउने अर्थमन्त्री युवराज खतिवडा, उहाँका ज्वाइँ सल्लाहकार रामशरण खरेल, धितोपत्र बोर्डका अध्यक्ष रेवत कार्की, कार्यकारी निर्देशक निरज गिरी, नेप्सेका प्रमुखचन्द्रसिंह साउदले धितोपत्र सम्बनधी ऐन २०६३ को प्रस्तावनामा उल्लेख भएको लगानीकर्ताको नैसर्गिक अधिकारको हनन् हुने गरी प्रहरीलाई दमन गर्न लगाएकाले उनीहरुमाथि कारबाही गर्न प्रधानमन्त्री केपी ओली समक्ष आग्रह गर्दछौ ।’ 

दवाब समूहले लगानीकर्ताका अन्य संघसंगठनमाथि समेत प्रहार गरेको छ । विज्ञप्तिमा भनिएको छ–‘विभिन्न समूहरुको अमूक स्वार्थपुर्तिका लागि खुलेका लगानीकर्ताका केही संघसंस्थाहरुको गतिविधिबाट ती समूहमा आबद्ध केही ब्यक्तिको कुत्सित स्वार्थ, ईच्छा र चाहना मात्र पूरा गर्ने र आम लगानीकर्ताहरुको हकअधिकार मोलमोलाईको बिषय मात्र बनिरहनेतर्फ समेत सम्बन्धित सबैको ध्यानाकर्षण गराउँन चाहन्छौ । त्यस्ता स्वार्थी संघसंस्थाहरुको भण्डाफोर पनि गर्नेछौ ।’