काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सको ३० करोड ५९ लाख बढीको संस्थापक सेयर किनबेच भएका कारण साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा कुल ५६ करोड १२ लाख बढीको कारोबार भएको छ । 

प्राइमको संस्थापक सेयरको आकस्मिक कारोबारलाई जोडेर नहेर्दा बजारमा २६ करोडको हाराहारीमा कारोबार भएको मान्न सकिन्छ । अघिल्लो दिनको तुलनामा यो कारोबार करिब ६ करोडले बढी हो । 

कारोबार रकम केही बढेको देखिए पनि नेप्से परिसूचक भने ५.३८ अंकले घटेर ११९३.३९ को विन्दूमा सीमित हुन पुगेको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स ०.९६ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४४ अंकको गिरावट आएको छ। 

यो दिन होटल समूह १४.६१ अंक तथा उत्पादनमूलक ०.४६ अंकले बढे भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आयो । 

बैंकिङ समूह ३.४६ अंकल घटेको यो दिन विकास बैंक समूह ७.०८, जलविद्युत समूह ६.६१, बित्त समूह ०.५७ र अन्य समूह ०.९७ अंकले घटे । यस्तै, माइक्रोफाइनान्स समूहमा १६.२३ अंकको गिरावट देखिएको यो दिन जीवन बिमा समूह ४३.५५ अंक र निर्जीवन बिमा समूह ८०.८२ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६२ कम्पनीका १९ लाख १८ हजार ६ सय ४८ कित्ता सेयर ५६ करोड १२ लाख ८१ हजार  ८ सय ४१ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको ३० करोड ५९ लाख बढीको सेयर किनबेच भयो । आमाको नामको सेयर छोरामा नामसारी गर्दा प्राइमको यति धेरै कित्ता सेयर कारोबार भएको देखिएको स्रोत बताउँछ ।

यस्तै, यो दिन नवील बैंकले ३ करोड ३१ लाख बढीको कारोबार गर्यो । नेपाल इन्स्योरेन्स कम्पनीले २ करोड ६९ लाख, प्रभू इन्स्योरेन्सले १ करोड ३३ लाख, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ करोड बढीको कारोबार गरे । यसैगरी, इन्भेष्टमेन्ट बैंकले ८२ लाख बढीको कारोबार गरेको बजारमा नवील बैंकको ६७ लाखको हाराहारीमा संस्थापक सेयर किनबेच भयो । एनसीसी बैंकले ५९ लाख बढीको कारोबार गरेको बजारमा प्राइम कमर्सियल बैंकले ५४ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनआइसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुले सबैभन्दा धेरै कमाए । यो स्किमको इकाई मूल्य ४.०३ प्रतिशतले बढ्यो । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ३ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ५.७९ प्रतिशतको गिरावट आयो । नेशनल हाइड्रोपावर कम्पनी लिमीटेडको सेयर मूल्य ५.६१ प्रतिशत तथा सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडको मूल्य ५.५१ प्रतिशतले बढ्यो ।