काठमाण्डौ । राष्ट्रिय स्तरको आशालाग्दो विकास बैंक ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सियल बैंकले अक्वायर गर्ने भएको छ । 

विगत केही दिनदेखि चलेको बाक्ला छलफलले यी दुई बैंकलाई एक बनाउने मार्ग प्रशस्त गर्ने बिषयमा टुंगो लगाएको छलफलमा सहभागी बैंकका एक उच्च अधिकारीले बिजशालालाई बताए । 

पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकलाई उदीयमान वाणिज्य बैंकको रुपमा अगाडि बढेको प्राइम कमर्सियलले प्राप्ति गर्ने बिषयमा लगभग सहमति भएको ती अधिकारीले जानकारी दिए । ‘हामी लगभग सहमतिमा पुगेका छौ ।’ ती अधिकारीले बिजशालासँग भने–‘४ पटक जति हामीले यो बिषयमा छलफल गरेका छौ र आज पनि छलफलमै छौ ।’ 

ती अधिकारीले सेयर स्वाप रेसियोको बिषयमा कुनै विवाद नरहेको र प्राप्तिको सम्झौतापछि हुने डिडिएले निर्धारण गर्ने सेयर स्वाप रेसियोमै दुवै पक्षले चित्त बुझाउने सहमति समेत भएको दाबी गरे । ‘केही साथीहरुले अहिले नै स्वापको बिषयमा पनि केही सहमति गर्नुपर्छ कि भनेर प्रस्ताव गरेपछि छलफल केही लम्बिएको मात्र हो ।’ ती अधिकारीले भने–‘तपाईहरुले भोलि(सोमबार)सम्मका सुखद खबर सुन्न पाउनुहुन्छ ।’ 

प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ । ओमको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ छ । यी दुई एक भएपछि बन्ने बैंकको चुक्तापूँजी साढे नौ अर्बमाथि पुग्ने बताइएको छ ।