काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले झापाको दमकमा मुख्य कार्यालय रहेको तीन जिल्ले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने भएको छ।

राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकसँगको ८ महिना लामो मर्जर प्रक्रिया सफल नभएपछि उपयुक्त पार्टनरको खोजीमा रहेको प्राइमले दमक ६ थानारोड, झापामा मुख्य कार्यालय रहेको कन्काईसँग गाभ्ने गाभिने सम्झौता गरेको हो । 

प्राइमले कन्काईजस्तै साना बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने रणनीति लिएको देखिन्छ । यहीकारण उसले अन्य थुप्रै साना वित्तीय संस्था(विकास बैंक र वित्त कम्पनी)सँग समेत एक्वीजिसनको छलफल चलाइरहेको छ । 

प्राइम बैंकको कमलपोखरीस्थित मुख्य कार्यालयमा एक समारोहका बीच दुवै बैंकका अध्यक्षले प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरेका हुन् । 

हाल प्राइम बैंकको चुक्तापुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । कन्काई विकास बैंकको चाहि ५१ करोड ५० लाख रुपैयाँ रहेको छ । दुवै बैंकस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार प्राइमले कन्काईलाई १००ः६८ को हाराहारीमा प्राप्ति गर्न खोजेको हो । 

यसको अर्थ कन्काई विकास बैंकको १०० कित्ता सेयर हुनेले बिलयपछि बन्ने प्राइम बैंकको ६८ कित्ता पाउनेछन् । तर, सेयर स्वाप रेसियोको अन्तिम टुंगो भने डिडिए रिपोर्टले मात्र लगाउनेछ । 

दोश्रो बजारमा प्राइमको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३०२ रुपैयाँ रहेको छ भने कन्काईको १९६ रुपैयाँ रहेको छ । 

नियमनकारी निकाय, श्री नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाको साथै थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले कन्काई विकास बैंक लिमिटेडलाई एक्विजिसन गर्न सहमति जनाइएको प्राइम बैंकले दाबी गरेको छ । 

कन्काई विकास बैंक लिमिटेडका ग्रामीण क्षेत्रमा १६ वटा शाखाहरु रहेका छन् । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ८९ हुनेछ । 
प्राइमले कन्काईलाई सकेसम्म छिटो प्राप्ति गरिने समेत पत्रकार सम्मेलनमा प्रष्ट पारेको छ ।