काठमाण्डौ । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक लिमिटेडले एकै दिन वार्षिक साधारणसभाको मिति तय गरेका छन् ।

दुवै बैंकको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले यही पुस २५ गते वार्षिक साधारणसभा गर्न लागेका हुन् । प्राइमको १२ औँ वार्षिक साधारणभा काठमाण्डौको राष्ट्रिय सभागृह र कैलाशको २६ औँ  वार्षिक साधारणभा  काठमाण्डौको अमृतभोग पार्टी प्यालेसमा हुनेछ ।

दुवै सभामा प्राइमले कैलाशलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष अजेन्डाहरु पारित गर्नेछन् ।

सभामा प्राइमले कैलाशलाई प्राप्ति गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ता एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सले तयार गरेको कैलाको चल÷अचल सम्पत्ति तथा दायित्व मूल्यांक प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थासमेतका आधारमा निर्धारण गरिएको कैलाको सेयरको सेयर स्वाप अनुपात पारित गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसैगरी प्राइमले कैलाश प्राप्ति गर्ने सम्बन्धमा गरिएको अन्तिम सहमति/सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ ।

यता प्राइमको वार्षिक साधारणसभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर पारित गर्नेछ ।

उता कैलाशको वार्षिक साधारणसमा पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर र २.७७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) पारित हुनेछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि प्राइम बैंकले पुस १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । प्राइमको साधारणसभा र लाभांश पाउन योग्य हुन पुस १३ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।

यस्तै कैलाश विकास बैंकले भने नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा पुस १० गतेसम्म कारोबार भई पुस १८ गतेभित्र संस्थाको सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडमा प्राप्त सेयर नामसारीको लिखतका आधारमा सेयरधनी दर्ता किताब कायम सेयरधनीहरुले मात्र साधारणसभामा उपस्थित हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने जनाएको छ ।