काठमाण्डौ । प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्रबैंकले मर्जरका लागि थप प्रयास गर्न भन्दै समय थपिदिएको छ । 

यी दुई बैंकबीच जारी मर्जर असफलतातर्फ उन्मुख भएपछि दुवै बैंकले केन्द्रीय बैंकलाई गुहारेका थिए । दुवै बैंकका प्रतिनिधिलाई बोलाएर राष्ट्रबैंकले छलफल गरेको थियो । सो क्रममा सानातिना असहमतिहरु पन्छाएर मर्जरका लागि अगाडि बढ्न राष्ट्रबैंकका अधिकारीहरुले निर्देशन दिएका थिए । 

तर, प्राइम कमर्सियल बैंकका कतिपय नियतमाथि शंका उब्जिएको भन्दै ओम डेभलपमेन्ट बैंकले आपत्ति जनाएपछि विश्वासको वातावरण बनाउन र आपसका असहमतिहरुलाई समाधान गरी मर्जरलाई सफल बनाउन भन्दै केन्द्रीय बैंकले समयत थपिदिएको उच्च स्रोतले जानकारी दिएको छ । 

अब यी दुई बैंकले जारी मर्जरलाई सफल बनाउन बैशाखसम्मको समय पाएका छन् । यो उनीहरुका लागि अन्तिम समय हुनेछ । 
 
मर्जरका लागि नेपाल राष्ट्रबैंकबाट लिएको म्याद करिब एक महिनाअघि नै सकिइसकेको थियो । बीचको एक महिना दुवै बैंकका अधिकारी अलमलमा परेका थिए । 

जारी मर्जर प्रक्रियाका केही विषयमा तिक्तता बढेसँगै यी दुई बैंकको मर्जर धरापमा परेको हो । दुई महिनाअघि नै दुई बैंकबीच मर्जर सकेर एकीकृत कारोबार थाल्ने भनिए पनि तिक्तता र असहमति बढेपछि दुवै बैंकले अन्तिम अवस्थामा नियामक नेपाल राष्ट्रबैंकलाई गुहारेका थिए । 

एमओयू गर्ने क्रममा भएको सम्झौता विपरीत प्राइम कमर्सियल बैंकले केही गतिविधि अगाडि बढाएपछि ओम बैंकका संचालक जारी मर्जर प्रक्रियासँग तर्सिएका हुन् । 

सुरुवातमा सम्झौता हुँदा दुवै बैंकले विशेष साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गर्ने र दुवैले सँगै वार्षिक साधारणसभा बोलाएर सेयरधनीलाई सँगै बोनस बाँड्ने सहमति भएको थियो । 

तर, प्राइम बैंकले मर्जर पार्टनर ओमलाई थाहै नदिई विशेष साधारणसभालाई पर पन्छाउँदै वार्षिक साधारणसभाका लागि केन्द्रीय बैंकसँग अनुमति माग्यो र यो विषय पत्रिकामार्फत प्रकाशन भएपछि मात्र ओमका संचालकले थाहा पाए ।

प्राइमले मात्र हतारमा वार्षिक साधारणसभा गर्दा ओमका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुँदैन थियो । यो विषयबाट ओमका संचालक तर्सिए ।

त्यति मात्र होइन, एमओयू गर्दाताकाको सहमति नै तोडेपछि प्राइमसँग ओमका संचालक नकारात्मक भएका हुन् । 

यस्तै, ओम संचालकहरुमा प्राइमकै कुनै स्वार्थले डिडिएमा ढिलाई भइरहेको भन्ने शंकाले समेत घर गर्यो । उनीहरु सशंकित बनेको योे बिषयमा प्राइमले कहिल्यै प्रष्ट पार्ने काम गरेन । 

मर्जर असफल बन्ने अवस्थामा पुग्ने अर्को कारण प्राइम बैंकमा लामो समयदेखि चलेको कर्मचारी आन्दोलन पनि एक बन्यो । ओमसँग मर्जरको डिल हुनुअघिदेखि नै त्यहाँका कर्मचारी आन्दोलित छन् । यो विषयले समेत मर्जरपछिको वित्तीय कारोबार र कर्मचारी पुनरसंरचनामा लफडा हुने ठानेर ओम पछाडि हटेको देखिएको छ । 

प्राइमले ओमलाई गाभ्ने विषयमा भदौ ३ गते सम्झौता भएको थियो । मर्जर सम्झौताको ५ महिना भन्दा बढी समयपछि भाँडिने अवस्था सिर्जना भएको थियो ।

तर, अब केन्द्रीय बैंकले समय थप गरेसँगै जारी मर्जरमा आशाको किरण देखिएको मर्जर कमिटीका सदस्यहरु दाबी गर्छन ।