काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेड र ओम डेभलपमेन्ट बैंक लिमीटेडबीचको जारी मर्जर प्रक्रिया भाँडिने संभावना बढेको छ । 

केही विषयमा तीव्र विवाद उत्पन्न भएसँगै मर्जरसँग सम्बन्धित काम पनि अहिले ठप्प भएका छन् ।

प्राइमले ओमलाई गाभ्ने विषयमा भदौ ३ गते सम्झौता भएको थियो । मर्जर सम्झौताको ५ महिना भन्दा बढी समयपछि भाँडिने अवस्था सिर्जना भएको हो । 

वार्षिक साधारणसभा, संचालक समितिमा प्रतिनिधित्व र कर्मचारी आन्दोलनको विषयले निकै ठूलो रुप लिएपछि मर्जरमा दरार उत्पन्न भएको हो ।

प्राइम बैंकस्थित एक उच्च स्रोतका अनुसार मर्जरको क्रममा उत्पन्न केही समस्याले विकराल रुप लिएपछि दुवै बैंकका संचालकबीच चरम असन्तुष्टि पैदा भएको छ । 

‘यो अवस्था निरन्तर रहे अब ओम र प्राइमबीचको मर्जर सफल हुने देखिन्न ।’ प्राइम बैंकका एक संचालकले भने–‘एकअर्काबीच धोका दिएको आरोप–प्रत्यारोप सुरु भएको छ । राष्ट्रबैंकले हस्तक्षेप नगर्ने हो भने जारी मर्जर भाँडिन्छ ।’

दुई बैंकका अधिकारीहरुबीच विवाद मिलाउने प्रयास सफल नभएपछि राष्ट्रबैंकलाई गुहार्ने विषयमा आन्तरिक छलफल पनि जारी छ । तर, दुवैले औपचारिक रुपमा राष्ट्रबैंकलाई गुहार्ने निर्णय भने गरिसकेका छैनन् ।

केन्द्रीय बैंक गुहार्नुअघि यी दुवै बैंकका संचालकहरु अन्तिम अवस्थासम्म पनि विवादलाई मिलाउने र सकेसम्म मर्जर सफल बनाउने प्रयासमा छन् । तर, आपसी तिक्तता र वैमनश्यता यस्तो ढंगले बढेको छ कि तत्काल कुरा मिलेर जारी प्रक्रिया अगाडि बढ्ने अवस्था छैन ।  

के हो विवाद ?
प्राइम बैंकले ओम बैंकलाई अक्वायर गर्ने बिषयमा भएको सम्झौतामा दुवैले सँगै साधारणसभा गर्ने र लाभांश समेत एकै ठाउँमा राखेर लगानीकर्तालाई वितरण गर्ने भनिएको थियो । 

मर्जरको प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारणसभाअघि दुवै बैंकले विशेष साधारणसभा बोलाउनुपर्ने बिषय सम्झौतामा उल्लेख थियो । तर, प्राइम कमर्सियल बैंकले भने विशेष साधारणसभा नै नगरी एकैपटक राष्ट्रबैंकबाट वार्षिक साधारणसभाको अनुमति लिएसँगै ओमसँग तिक्तता बढेको हो । 

‘राष्ट्रबैंकबाट प्राइमलाई वार्षिक साधारणसभा गर्ने अनुमति पाएको विषय ओमका साथीहरुले पत्रिकाबाट मात्र थाहा पाउनु भएछ ।’ प्राइमका एक संचालकले भने–‘यही विषयले ठूलो रुप लिई अहिले मर्जर नै भाँडिने अवस्था सिर्जना भएको हो ।’ 

दुई बैंकका अधिकारीहरुबीच डिडिएमा भइरहेको ढिलाईको विषयमा समेत शंका–उपशंका उब्जिएको बताइएको छ । ‘डिडिएमा ढिलाई हुनुमा समेत प्राइम बैंकको खेल छ कि भन्ने आशंका ओमका साथीहरुलाई भएको देखियो ।’–प्राइमका ती संचालकले बिजशालासँग भने  । 

स्रोतका अनुसार वार्षिक साधारणसभा सँगै गर्दा प्राइमसँगै ओम  बैंकको समेत संचालक समितिमा प्रतिनिधित्व हुन्थ्यो । तर, प्राइमले मात्र वार्षिक साधारणसभा गर्दा ओमको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुनै सक्दैन । ‘मैले पनि यो गलत नै भयो भनेर साथीहरुलाई भनिरहेको छु ।’–ती संचालकले बिजशालासँग भने । 

जारी मर्जर प्रक्रियामा समस्या उत्पन्न गराउने एउटा अर्को विषय प्राइम बैंकमा विगत लामो समयदेखि चलिरहेको कर्मचारीको आन्दोलन पनि रहेको स्रोतको भनाई छ । कर्मचारीको लामो समयदेखिको आन्दोलनले मर्जरपछि पनि समस्या ल्याउनसक्ने भन्दै ओमका संचालकहरु तर्सिएका स्रोत बताउँछ । 

अब के हुन्छ ?
मर्जरको क्रममा आएको तिक्तताको तत्काल व्यवस्थापन हुने र कुरा मिलेर अवरुद्ध प्रक्रिया अगाडि बढ्ने संभावना छैन । यसकारण दुई बैंकका संचालकबीचको  तिक्तताको बिषयमा दुवै बैंकका संचालकले आपसमा कुरा मिलाउन नसकेपछि औपचारिक रुपमा नेपाल राष्ट्रबैंकलाई गुहार्नेछन्।

नेपाल राष्ट्रबैंकले दुवै बैंकका अधिकारीलाई राखेर छलफल गर्नेछ र मिल्न निर्देशित गर्नेछ । विवाद मिल्नसक्ने अवस्था भए केन्द्रीय बैंकले समन्वय गरी मिलाउनेछ । तर, मिल्नै नसक्ने अवस्था भएमा राष्ट्रबैंकसामु समेत जारी मर्जर प्रक्रिया टुंग्याउनुको विकल्प बाँकी रहने छैन । यस्तो अवस्थामा नेपाल राष्ट्रबैंककै निर्णय अन्तिम हुनेछ ।