काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २१ करोड ६३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीले १५ करोड ८७ लाख नाफा आर्जन गरेको थियो । यो हिसाबले कम्पनीले नाफातर्फ ३६.२६ प्रतिशतको प्रगति गरेको देखिएको छ । 

समीक्षा अवधिमा प्राइमले कुल बिमा शुल्क आर्जन चाहि २ अर्ब ३७ करोड गरेको छ । अघिल्लो वर्ष यस्तो आर्जन २ अर्ब ४ करोड मात्र थियो । कम्पनीले हालसम्म कुल १२ अर्ब १९ करोड बिमा शुल्कबाट आर्जन गरिसकेको उसको रिपोर्टले देखाउँछ । 

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ३१ करोड ४६ लाखबाट बढाएर ५३ करोड ८६ लाखको उचाईमा पुर्याएको छ । बिमालेखको धितोमा कर्जाबाट हुने आय समेत १ करोड १६ करोडबाट बढाई ४ करोड २६ लाखको उचाई चुमाएको छ । 

यो अवधिमा प्राइमको व्यवस्थापन खर्च ह्वात्तै बढेको देखिएको छ भने कम्पनीले यो अवधिमा ३० करोड ५४ लाखको खूद दाबी भुक्तानी गरेको छ । कम्पनीले हालसम्म कुल ४० करोड ५६ लाख रुपैयाँ रहेको छ । 

कम्पनीले हालसम्म १६ लाख १६ हजार १ सय ७४ बिमा लेख जारी गरिसकेको छ ।

प्राइमले ८८ करोड ८० लाखको जगेडाकोषलाई बढाएर ९६ करोड ३४ लाखको उचाईमा पुर्याएको छ भने ४ अर्ब  ८२ करोडमा सीमित जीवन बिमा कोषको आकार समेत बढाई ६ अर्ब ५३ करोड बनाएको छ । ६ करोड २९ लाखमा सीमित महाविपत्ति जगेडा समेत बढेर ९ करोड २२ लाखको उचाईमा पुगेको छ । 

कम्पनीको घोषित मुनाफा(बोनस)को दर प्रतिहजार ३५ देखि ७५ को बीचमा हुने देखिएको छ । यस्तो दर अघिल्लो वर्ष ३२ देखि ६८ को बीचमा थियाो । यस्तै, अन्तरिम मुनाफा(बोनस)को दर प्रतिहजारमा पनि ३५ देखि ७५ नै रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस) १२.१२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.७२ गुणा कायम भएको छ । चुक्तापूँजीमा २६५.६२ प्रतिशतको वृद्धि गरेको कम्पनीले सोअनुपातमा नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी भने गतवर्र्षको तुलनामा निकै घटेको हो ।