काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई १४ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो बैंक १ अर्ब वितरणयोग्य मुनाफा आर्जन गरेको हो । हाल यो बैंकको चुक्तापुँजी ८ अर्ब ३ करोड रहेको छ।

बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरिसकेको र आगामी वार्षिक साधारणसभाबाट यो पारित हुनेछ । १६ प्रतिशत बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापूँजी बढेर ९ अर्ब ३१ करोड पुग्नेछ । 

तेश्रो त्रैमासको वितरणयोग्य मुनाफाको दर चौथो त्रैमाससम्म पनि कायमै रहेमा बैंकले यो वर्ष १ अर्ब ३४ करोड वितरणयोग्य मुनाफा आर्जन गर्ने देखिन्छ । यो हिसाबले बैंकले यो वर्ष लगानीकर्तालाई १४ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको हो ।

प्राइम बैंकले समीक्षा अवधिमा १ अर्ब ५४ करोड खूद नाफा कमाएको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१.३६ प्रतिशतले बढी हो । 

अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ७० करोडमा सीमित संचालन मुनाफा  २८.६८ प्रतिशतले बढेर २ अर्ब १९ करोडको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ८३ करोडमा सीमित खूद ब्याज आम्दानीमा बैंकले ४२.१५ प्रतिशतको फड्को मारी २ अर्ब ६० करोडको उचाई चुमाएको छ । 

यो अवधिमा बैंकले ६८ अर्ब ६५ करोड निक्षेप संकलन गरी ६९ अर्ब ८६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ५.४८ प्रतिशतले घटेको छ भने कर्जा बिस्तार ४.०६ प्रतिशतले बढेको छ । 

अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ८३ करोडमा सीमित रिजर्बलाई अझ मजबुत बनाई बैंकले २ अर्ब ३३ करोडको उचाई चुमाएको छ । 

बैंकमा खराब कर्जाको अनुपात भने बढ्दै गएको छ, यो राम्रो संकेत होइन । अघिल्लो वर्षको यही अवधिमा १.०६ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर यो वर्ष १.५८ प्रतिशत पुगेको छ । 

अघिल्लो वर्ष ८.५३ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ८.२९ प्रतिशतमा सीमित भएको छ भने ११.१ प्रतिशत रहेको आधार दर घटेर १०.२ प्रतिशतमा सीमित भएको छ। 

अघिल्लो वर्षको यही अवधिमा १९.५६ रुपैयाँमा सीमित बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर २५.६९ रुपैयाँको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५८.४८ र मूल्य आम्दानी अनुपात १२.८४ गुणा कायम भएको छ ।