काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संचालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् । 

जेठ २६ गते सम्पन्न बैंकको ११ औं वार्षिक साधारणसभाबाट संस्थापक समूहबाट संचालकमा निर्वाचित श्रेष्ठलाई जेठ २७ गते बसेको नवनिर्वाचित संचालक समितिको बैठकले अध्यक्षको जिम्मेवारी दिएको हो । 

साधारणसभाले उनीसहित संस्थापक समूहबाट नरेन्द्र बज्राचार्य र उदयमोहन श्रेष्ठ तथा  सर्वसाधारण शेयर धनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल संचालकमा चयन भएका थिए । 

यसअघिका संचालक समिति अध्यक्ष उदयमोहन श्रेष्ठ भने संचालक मात्र रहनेछन् । 

यो बैंकले ओम डेभलपमेन्ट बैंकसँगको मर्जर टुटेपछि साना कम्पनीहरुसँग धमाधम गाभ्ने गाभिने सम्बन्धमा सम्झौता गरिरहेको छ। 

मर्जर र एक्वीजिसनपछि २० अर्ब भन्दा बढी चुक्तापूँजी भएको बैंक बन्ने अभियान सुरु भएको जटिल अवस्थामा कमाण्ड सम्हाल्ने गरी राजेन्द्रदास अध्यक्षको रुपमा उदाएका हुन्।