काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ३ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.७८ प्रतिशत बढीले बीमाशुल्क आर्जन गरेको हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको यस्तो आर्जन २ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो। 

यो कम्पनीको अघिल्लो वर्षसम्म ८ अर्ब ९० करोडमा सीमित जीवन बिमा कोष बढेर ११ अर्ब ४७ करोडको उचाईमा पुगेको छ । यो भनेको २८.८७ प्रतिशतको बढोत्तरी हो । महाविपत्ति कोष जगेडामा १३ करोड ९४ लाख जम्मा भएको छ। १ अर्ब २४ करोड रुपैयाँको रिजर्बको आकार घटेर ८८ करोड ९८ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ। 

कम्पनीको सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यी शीर्षकबाट हुने आय ७७ करोड ३६ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिमा कम्पनीले ६५ करोड ३२ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ। 

समीक्षा अवधिमा कम्पनीको बीमालेख धितो कर्जा आयबापत १० करोड ७८ रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष ७ करोड १२ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको खुद नाफा ४.६४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा ३१ करोड ३० लाख रुपैयाँ रहेको खुद नाफा घटेर समीक्षा अवधिमा २९ करोड ८५ लाख रुपैयाँमा सीमित हुन पुगेको हो। 

अघिल्लो वर्ष ५३ करोड २२ लाख रुपैयाँ रहेको व्यवस्थापन खर्च बढेर ५९ करोड ३३ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १३.२२ रुपैयाँ रहेको छ भने पीई रेसियो ४०.१८ गुणा रहेको छ।