काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३२.५ प्रतिशतको दरले बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीको माघ २४ गते सम्पन्न १०६ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट २०७४ असार मसान्तसम्मको चुक्तापुँजीको ६१ करोड २ लाखको ३२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश वितरणको निर्णय गरेको हो । 

प्राइम लाइफले १९ करोड ८३ लाख १५ हजार बराबरको बोनस सेयर वितरण गर्नेछ । 

यस्तै, कम्पनीको गत भदौ २७ मा सम्पन्न ७ औं, आठौं, नवौं र दशौं वार्षिक साधारणसभाबाट पारित भएको चुक्तापूँजीको १६० प्रतिशत दरको हकप्रद सेयरका आवेदकहरुले बोनस पाउनेछन् । हाल हकप्रद सेयर निश्कासनको प्रक्रियामा रहेको छ । हकप्रद सेयरको निश्कासन प्रक्रिया पूरा भई हुने चुक्तापुँजीमा ३२.५ प्रतिशत बोनस सेयर समायोजन भई १२.५ प्रतिशत हुने कम्पनीले जनाएको छ । 

बोनस वितरणको यो निर्णय नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।