काठमाण्डौ । देशको अधिकांश जनसंख्या बिमाको पहुँचबाहिर छ । यहीकारण देशका बिमा कम्पनी स्थापनाको लहर नै चलेको छ । कम्पनीहरुले विभिन्न स्किममार्फत आफ्नो व्यवसाय बिस्तारको आक्रामक रणनीति समेत बनाइरहेका छन् । यहीकारण कम्पनीहरुले संभावित आम्दानीको प्रक्षेपण समेत निकै हौसिएर गरिरहेका छन् । यही क्रममा प्राइम लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षसहित त्यसपछिका २ वटा आर्थिक वर्षको प्रक्षेपण सार्वजनिक गर्दै ०७६७७ सम्म खूद नाफा एक अर्ब कटाउने दाबी गरेको छ । 

कम्पनीले हकप्रदका लागि प्रकाशन गरेको विवरणपत्रमा आर्थिक वर्ष ०७६/७७ मा १ अर्ब ४ करोड भन्दा बढी खूद नाफा आर्जन गर्ने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष ०७५/७६ मा ६५  करोड ४५  लाख र चालु आर्थिक वर्षको अन्तसम्ममा ४० करोडको हाराहारीमा खूद नाफा आर्जन गर्ने कम्पनीको प्रक्षेपण छ । 

यो कम्पनीले ०७६/७७ सम्म कम्पनीको प्रतिसेयर आम्दानीलाई बढाएर ५२ रुपैयाँको उचाईमा पुर्याइने प्रक्षेपण गरेको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १०.४० रुपैयाँ मात्र छ । यो आर्थिक वर्षको अन्तसम्म इपीएस २२ रुपैयाँ ४० पैसा, ०७५/७६ मा ३२.६० रुपैयाँ र ०७६/७७ मा ५२ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण हो । 

आर्थिक वर्ष ०७६/७७ सम्म प्राइम लाइफले साधारण जगेडाकोषलाई बढाएर २ अर्ब २६ करोड र चुक्तापूँजी  पनि २ अर्ब माथि पुर्याइने प्रक्षेपण सार्वजनिक गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ६१ करोड छ भने जगेडाकोषमा ८० करोड ७६ लाख मात्र छ । 

आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको जीवन बिमा कोष १० अर्ब भन्दा माथि पुर्याउने र महाविपत्ति जगेडालाई २० करोड माथि पुर्याउने प्रक्षेपण गरिएको छ ।