काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १४ करोड ३१ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.२२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष प्राइमको खूद नाफा १० करोड ७४ लाखमा सीमित थियो ।

प्राइमले तेश्रो त्रैमाससम्म १  अर्ब ५८ करोड कुल बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ३४  करोड रुपैयाँ रहेको थियो । हालसम्म भने यो कम्पनीको बिमा शुल्कतर्फको आर्जन ११ अर्ब ४ करोड पुगेको छ । 

कम्पनीको लगानी, कर्जा  तथा अन्यबाट हुने आय र बिमालेखको धितोमा कर्जाबाट हुने आय समेत ह्वात्तै बढेको छ । समीक्षा अवधिमा प्राइमले लगानी, कर्जा तथा अन्यबाट ४३ करोड ८५  लाख आर्जन गरेको छ, अघिल्लो वर्ष यस्तो आर्जन २१ करोड २१ लाखमा सीमित थियो । यस्तै, ७२ लाखमा सीमित बिमालेखको धितोमा कर्जाबाट हुने आय बढाएर १ करोड २७ लाखको उचाईमा पुर्याएको छ ।

समीक्षा अवधिमा कम्पनीले १८ करोड ७८ लाख दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी २१ करोड ३४ लाख थियो ।

अघिल्लो वर्ष ७५ करोड २४ लाखमा सीमित जगेडाकोष ९४ करोड ८२ लाख, ४ अर्ब ४६ करोडमा सीमित जीवनबिमा कोष ५ अर्ब ९८ करोड, ५ करोड ६६ लाखमा सीमित महाविपत्ति कोष जगेडा बढेर ८ करोड ४९ लाखको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष यही अवधिमा ४८ करोड ८१ लाख रहेको कम्पनीको चुक्तापूँजी बढेर यो वर्ष ६१ करोड माथि पुगेको छ ।

समीक्षा अवधिमा प्राइम लाइफको प्रतिसेयर आम्दानी ३१.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६९.३१ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २०.४३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४१८.१५ रुपैयाँ कायम भएको छ ।