काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले हिजोदेखि प्राथमिक सेयर निष्कासनमा बुक बिल्डिङ विधि लागू गरेको छ । यसको मतलब अब साधारण सेयरको सार्वजनिक निष्कासन ३ किसिमबाट हुनेछ । पहिलो अंकित मूल्य रु १०० मा, दोस्रो अंकितमूल्यमा प्रिमियम थप गरी एफपीओद्वारा सेयर निष्कासन त हुँदै आइरहेको छ, तर अब तेस्रो विधि आइपीओमा बुक बिल्डिङ विधि हिजोबाट लागू भएको हो । 

अब सबै आइपीओ चाहिँ बुक बिल्डिङ विधिबाट आउने भयो भन्ने आम लगानीकर्ताहरुमा अन्यौलता छ, तर यो होइन । बोर्डद्वारा निश्चित मापदण्ड पूरा गरेका मात्र यो विधिमा समावेश हुन पाउने हुन् । 

नेपाली अर्थतन्त्रमा राम्रो गरिरहेका कम्पनीहरुको प्रवेशसँगै आम लगानीकर्ताहरुले समेत ती राम्रा कम्पनीका मुनाफा आर्जन गर्नसक्ने र पूँजीबजारको दायरा थप वृद्धि हुने भएकाले समेत यो बुक बिल्डिङ विधिले धेरैको हित गर्ने जानकार बताउँछन् । 

नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले लगानीकर्ताकै हितलाई मध्यनजर गर्र्दै राम्रा कम्पनीहरुमा लगानीकर्ताको पनि स्वामित्व रहने ठहर गरी बोर्डले बुक बिल्डिङ विधि लागू गरेको बताए । टेलिकम्युनिकेसन, हवाईक्षेत्र, रियल सेक्टरका कम्पनीहरुका बोर्डमा समेत सर्वसाधारण डाइरेक्टर हुने अवसरको ढोका खुलिएको केसी सुनाउँछन् । 

'यो विधि अन्तर्राष्ट्रिय अभ्यास पनि हो भने अध्ययन समितिले सुझाएको ५८ बुँदेमध्येकै एक र बोर्डको नीति तथा कार्यक्रममा समाविष्ट कार्यक्रम हो',केसीले बिजशालासँग भने,'धितोपत्र बोर्डबाट अनुमतिप्राप्त योग्य संस्थाहरुले फेयर प्राइसिङ हुने बुक बिल्डिङ विधि संस्थागत परिवर्तन पनि हो । 
बुक बिल्डिङ विधिमा बाँडफाँडको विधि हालकै जस्तो १० कित्ता भएझैं न्यूतम ५० कित्ता समावेशी रुपमा लगानीकर्ताहरुले पाउनेछन् ।'

लगानी विविधिकरणको अवसर पनि सिर्जना हुने उल्लेख गर्दै सहप्रवक्ता केसी संस्थागत लगानीकर्ताहरु आउँदा बजारको उत्तारचढाव नियन्त्रणमा समेत कम गर्ने दाबी गर्छन् । अर्थतन्त्रमा राम्रो गरिरहेका कम्पनीको बाँडफाँडमा  लगानीकर्ताहरुले सहभागिता जनाउन पाउने भएकाले बुक बिल्डिङ विधिका सबै पक्ष राम्रो भएको र लगानीकर्तालाई फाइदैफाइदा हुने उनको तर्क छ ।

बिशेषगरी रियल सेक्टरका कम्पनी सेयर बजारमा ल्याउनका लागि बुक बिल्डिङ विधि सहज हुने उल्लेख गर्दै नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेल बुक बिल्डिङ विधि विश्वव्यापी स्वीकार्य विधि भएको बताउँछन् । दामासाही संस्था, व्यवसायी तथा विज्ञले फेयर प्राइस निर्धारण हुँदा राम्रा कम्पनीहरु पूँजीबजारमा सूचीकृत गर्न आकर्षित गर्न सहयोग पुग्ने पौडेलको भनाइ छ । 'यो विधिमा कोही पनि आत्तिनु पर्दैन । यसमा त झन् छनौटको अवसर वृद्धि भएको छ ।' पौडेलले बिजशालासँगको कुराकानीका क्रममा भने-'बरुण वेभरेज, एनसेल, डाबर नेपाल, सूर्य नेपाल जस्ता राम्रा कम्पनी पनि सेयर बजारमा भोलिका दिनमा आउन सक्छन् । विज्ञबाट कम्पनीको मूल्य तय. हुनाले लगानीकर्तालाई फाइदा हुन्छ ।'

कोही पनि लगानीकर्तालाई बुक बिल्डिङ विधिबाट घाटा नहुने जिकिर गरेका पौडेलले या व्यवस्थाका कारण पूँजीबजारको क्षेत्र व्यापक हुने दाबीसमेत गरे । धेरै राम्रा कम्पनीमा सहभागिता जनाउँदा अपनत्व कायम हुने र लगानीकर्तालाई नै फाइदाफाइदै हुने पौडेलको ठहर छ।

रियल सेक्टरका कम्पनीहरु सेयर बजारमा आउन हिच्किचाइरहेका बेला बुक बिल्डिङ विधिले सहज बनाइदिएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटको भनाइ छ । कम्पनीले रियल मूल्य पाउने हुँदा सूचीकृत हुन आकर्षण हुने र लगानीकर्ताले पनि फेयर प्राइसमा खरिद गर्ने अवसर पाउने भएकाले सबैलाई फाइदा नै भएको अध्यक्ष रानाभाटको ठम्याइँ छ । 

राम्रा कम्पनीका बुक बिल्डिङ विधिबाट आइपीओ किनेका लगानीकर्ताले भोलिका दिनमा दोस्रो बजारमा ती कम्पनीहरुको मूल्यमा पनि उछाल आउने हुँदा लगानीकर्ताले झन् धेरै मुनाफा कमाउने अवसर सिर्जना भएको उनको दाबी छ ।