काठमाण्डौ । सरकार कमजोर भएको बेला कर्मचारी प्रशासनको भ्रष्ट प्रवृतिको भरपूर प्रयोग गर्दै पैसाको भरमा उपभोक्ता स्वास्थ्यमाथि कसरी खेलवाड हुनसक्छ भन्ने कुरा बंगलादेशी ब्राण्ड ‘प्रान’को हदैसम्मको फट्याई हेरे काफी हुन्छ । बंगलादेशकै उपभोक्तामाझ समेत बहिस्कृत भइसकेको र पटक–पटक कम्पनीले उत्पादन गर्ने जूसमा खानै नहुने वस्तुु मिसावट भएको पुष्टि भइसकेको प्रानले नेपालमा पठाउने जूसमा जथाभावी गरेको एकपछि अर्को खुलासा भइरहेको छ।

‘उही टेक्नोलोजीबाट नेपालमा बनेको जूस चाहि ९ महिना भन्दा खाए त्यो खान लायक नहुने, तर बंगलादेशमा उत्पादित जूस चाहि १८ महिनासम्म खान लायक कसरी हुन्छ ? यस्तो कसरी लेख्न पाइन्छ ? यस्तो फट्याई हुँदा समेत बजार हेर्ने निकाय के हेरेर बसेको छ ?’

पछिल्लो समय प्रानले नेपालमा न्यून बिजकीकरण गरी पठाइरहेको जूसको ट्रेटा प्याकमा हदैसम्मको फट्याई गरेको र यसको गम्भीर असर उपभोक्ताको स्वास्थ्यमा समेत परिरहेको देखिएको हो । 

प्रानको यस्तो फट्याईको बिषयमा अहिलेसम्म बजार अनुुगमन तथा गुणस्तर चेकजाँचको जिम्मा लिएका सरकारी निकायका कर्मचारी मौन रहनुले मिलेमतोमा यस्तो काम भइरहेको हो कि भन्ने शंका समेत उब्जाइदिएको छ । 

प्रानले हाल विभिन्न फ्लेभरका खानै नहुने जूसहरु नेपालमा दैनिक ३० ट्रकका दरले काँकडभिट्टा नाकाबाट भित्र्याइरहेको छ । नेपाल भित्रिएका जुस तथा अन्य उत्पादनमा एमआरपी नलेखी उसले निकै ठूलो भन्सार राजश्व मारिरहेको छ भने अर्कोतर्फ ट्रेटा प्याकका जुसमा उपभोक्तालाई छक्याउने खेल समेत खेलेको भेटिएको छ । 

उसले नेपाली बजारमा पठाएका ट्रेटा प्याकमा जूसको प्रयोग मिति उत्पादन भएको मितिले १८ महिनासम्म प्रयोग गर्न सकिन्छ भनिएको छ । लेवलमा त्यही कुरा प्रष्ट लेखिएको फेला परेको छ । तर, यस्ता जुस जुन टेक्नोलोजीबाट बन्छ र ट्रेटा प्याकमा बजारमा पठाइन्छ, यसको प्रयोग उत्पादन भएको मितिदेखि छिटोमा ६ महिना र ढिलोमा ९ महिनाभित्र गरिसक्नुुपर्छ । त्यतिञ्जेलसम्म पनि बजारमा पठाइएका उत्पादन खपत नभए ती खान अयोग्य हुन्छन् र कम्पनीले बजारबाट यस्तो वस्तु फिर्ता लिनुपर्छ । 

उपभोक्ता स्वास्थ्यप्रति जिम्मेवारी कम्पनीका लागि यो नियम हो । तर, प्रानलाई नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको बिषयमा के मतलब ? सायद यही कारणले हुनुपर्छ, उसले नेपाल पठाएका जूसको ट्रेटा प्याकमा उत्पादनको समयदेखि १८ महिनासम्म प्रयोग गर्न मिल्छ भन्ने लेबल राखेएर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको छ । 

नेपाली बजारमा बढी खपत हुने डाबर, फ्रूटी र रियोका जूसहरु समेत ट्रेटा प्याकमै आउँछन् । तीमध्ये धेरैले उत्पादन भएको समयदेखि ६ महिनासम्म मात्र प्रयोग गर्न सकिने जनाउ लेवलमा स्पष्ट रुपमा दिएका हुन्छन् । कतिपयले भने ९ महिनासम्म प्रयोग गर्न सकिने गरी लेबल लगाउँछन् । ‘डाबर, फ्रूटी र रियोले जूस उत्पादन गर्ने र प्रानले जूस उत्पादन गर्ने टेक्नोलोजी एउटै हो ।’ एक खाद्य प्राविधिकले बिजशालासँग भने–‘उही टेक्नोलोजीबाट नेपालमा बनेको जूस चाहि ९ महिना भन्दा खाए त्यो खान लायक नहुने, तर बंगलादेशमा उत्पादित जूस चाहि १८ महिनासम्म खान लायक कसरी हुन्छ ? यस्तो कसरी लेख्न पाइन्छ ? यस्तो फट्याई हुँदा समेत बजार हेर्ने निकाय के हेरेर बसेको छ ?’

अर्को गम्भीर कुरा, उत्पादन मितिबाट ९ महिना समय कटेपछि नेपाली उद्योगहरुले त्यस्ता ट्रेटा प्याक फिर्ता लिन्छन् । तर, प्रानले भने उपभोक्ता स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै अखाद्य जूस १८ महिनासम्म निस्फिक्री बेचिरहन्छ । 

एकातिर प्रानका जुसमध्ये अधिकांश खान लायक छैनन् । त्यहाँ मानिसको स्वास्थ्यलाई हानी गर्ने बिषयुक्त चिजहरु मिसाइएको बंगलादेशकै मिडियाहरुले समेत पटक पटक पुष्टि गरिसकेका छन् । अर्कोतर्फ, नेपालमा पठाइएका ट्रेटा प्याकमा भने १८ महिनाको एक्सपाइरी डेट राखिएको छ । मिसावटयुक्त प्रान ब्राण्डका जूस १८ महिनासम्म बजारमा रहँदा त्यसले जनस्वास्थ्यमाथि कति भयावह असर गरिररहेको होला सहजै अनुमान गर्न सकिन्छ । 

राम्रो नियतले र बिना मिसावट बनाइएको जूस नै पनि ट्रेटा प्याकमा ९ महिनासम्म मात्र प्रयोग गर्न मिल्छ भने मिसावटयुक्त प्रानको जूस १८ महिनासम्म प्रयोग गरियो भने त्यसले के गर्ला ? सहजै अनुमान गर्न सकिन्छ । 

प्रानको हदैसम्मको फट्याईको बिषयमा हामीले खाद्य तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णसँग कुरा गर्ने प्रयास गर्यौ, उनको फोन उठेन । उनको कार्यालयमै पुुग्दा भेटिएनन् । हामीले विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीसँग यो बिषयमा बुुझ्ने कोशिश गर्यौ, उनले ‘डिजी साबलाई सबै कुरा थाहा होला’ भने । तर, उनले अन्तिममा यो पनि भन्न छुटाएनन् कि ‘जूस उत्पादन गर्ने स्वदेशी उद्योग हामीसँग प्रशस्त छन्, विदेशको उत्पादन नै चाहिन्छ भन्ने पनि छैन नि’ ।

प्रानका अन्य कर्तुत जान्न यी समाचार पनि पढ्नुहोस्:

  1. आफ्नै देशमा बहिस्कृत प्रान जूसको नेपालमा अबैध व्यापार, उपभोक्ता स्वास्थ्यमा गम्भीर खेलवाड
  2. पानीमा चिनी घोलेर 'लिच्ची जूस' भन्दै बेच्दै !