काठमाण्डौ । प्राप्ति प्रक्रिया टुंग्याउन मेगा र गण्डकी विकास बैंकले विशेष साधारणसभाको मिति र स्थान तय गरेका छन्।

दुवै बैंकको सञ्चालक समितिको बैठकले विशेष साधारणसभाको मिति र स्थान तय गरेको हो। दुवैले एकै दिन आउँदो जेठ २१ गते सभा डोकेका छन्। 

मेगा बैंकको सभा काठमाण्डौको कमलादीस्थित उसकै केन्द्रीय कार्यालयमा हुनेछ। गण्डकी विकास बैंकको भने पोखरास्थित मुख्यालयमा हुनेछ। 

मेगाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न लागेको हो। दुवैको सभामा विशेष प्रस्तावका रुपमा प्रस्तुत गरिने यो प्राप्ति प्रक्रियाको अन्तिम सहमति र सम्झौताहरु पारित हुनेछन्। 

मेगाले १ः१ सेयर स्वाप रेसियोमा अनुपातमा गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको छ। 

प्राप्तिपछि बन्ने संस्थाको नाम मेगा बैंक नै रहनेछ भने बैंकका अध्यक्ष तथा संचालक मेगा बैंककै र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंककै निरन्तर रहने सम्झौता भएको छ। 

गण्डकी विकास बैंकलाई प्राप्तिपछि बन्ने बैंकमा कर्मचारीको संख्या २ हजार पुग्नेछ भने शाखा संख्या २०० नाघ्नेछ । चुक्तापूँजी १३ अर्ब माथि पुग्नेछ।