काठमाण्डौ। प्राप्ति प्रक्रिया टुंग्याउन एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले एकैदिन विशेष साधारणसभा डोकेका छन्।

दुवै बैंकले यही असार २१ गते सभा डाकेका हुन्। एनएमबिले काठमाण्डौको नयाँ बानेश्वरस्थित कृष्णटावरमा र कञ्चनले कञ्चनपुरको महेन्द्रनगरस्थित होटेल ओपेरामा सभा सञ्चालन गर्नेछन्।

दुवै सभाले एनएमबिले कञ्चनलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिहरुका तर्फबाट प्रस्तुत प्रतिवेदन पार्ने तथा प्रापित प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्नेछ। कञ्चनलाई एनएमबिले १००ः८५ को सेयर स्वापमा प्राप्ति गर्ने सम्झौता पनि सभाले स्वीकृत गर्नेछ।

विशेष साधारणसभाका लागि एनएमबि बैंकले असार १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।  

कञ्चन डेभलपमेन्ट बैंकको मुख्यालय हाल कञ्चनपुरको महेन्द्रनगरमा रहेको छ । यसको कार्यक्षेत्र सुदुरपश्चिमका ५ जिल्ला(कैलाली, कञ्चनपुर, बैतडी, डोटी र डडेलधुरा) मा फैलिएको छ । बैंकको १७ वटा शाखा र ३ वटा एक्सटेन्सन काउण्टर रहेका छन् । कञ्चनमा १८१ कर्मचारी रहेका छन् । 

एनएमबी बैंकले ५ जिल्लामा राम्रो प्रभाव रहेको यो बैंकलाई प्राप्ति गरी आफूलाई सुदुरपश्चिममा समेत सशक्त बनाउने रणनीति लिएको देखिन्छ । 

एनएमबी बैंक र कञ्चन डेभलपेमन्ट बैंकका बीच गाभ्ने गाभिने विषयमा जेठ २५ गते सम्झौता भएको एनएमबी बैंकका कम्पनी सचिव ध्रवप्रसाद अधिकारीले जानकारी दिए । 

एनएमबीले प्राप्तिको सम्झौता गरेको कञ्चन डेभलपमेन्ट बैंकको लाभांश इतिहास सन्तोषजनक रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष १६ प्रतिशत लाभांश वितरण गरेको यो बैंकको त्यसअघिका वर्षहरुको औसत लाभांश दर २० प्रतिशतको हाराहारीमा थियो ।