काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १३ औं वार्षिकोत्सवको अवसरमा शनिवारदेखि काठमाण्डौ र पोखरामा जिएसएम प्रिपेडमा पनि  फोरजी सेवा सुरु गरेको छ । 

यस्तै टेलिकमले सीआरबिटी सेवा पनि पुनः संचालनमा ल्याएको छ । मोबाइल सेवामा कल वेटिंग र कल फरवार्डिंग जस्ता सुविधा उपलब्ध गराइएको छ । 

वार्षिकोत्सवकै अवसर जीएसएम नेटवर्कका सेवाग्राहीहरुलाई रु. २० मा ५ दिन भ्यालिडिटी भएको एकसय एमबी फेसबुक प्याकेज उपलब्ध गराइएको छ । यीबाहेक अन्य विभिन्न सेवाहरुमा विभिन्न प्रकारको अफर र छुटको व्यवस्था गरिएको छ । 

यस्तै, कम्पनीको केन्द्रीय कार्यालयमा शनिवार आयोजित वार्षिकोत्सव समारोहमा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल टेलिकमले तथ्यांक भन्दा पनि परिणाममा जोड दिनुपर्ने बताउँदै प्रतिस्पर्धात्मक रुपमा नेपाली जनताको हितमा समर्पित हुने गरी कार्य गर्न आग्रह गरे । उनले देशका दुर्गम स्थान र सहरी क्षेत्रका अस्पताल र स्कुल/कलेजहरुमा नेटवर्क विस्तार गरी सबैलाई प्रविधिको माध्यमबाट एकअर्कासँग सम्पर्क गर्न र विश्वको अवस्थासँग परिचित हुने कार्यमा सहयोग पुर्याउन कम्पनीलाई सुझाव दिए ।

ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले राष्ट्र र जनताप्रति उत्तरदायी रही आफूलाई एक्लो प्रतिस्पर्धी साबित गर्न सकोस् भन्ने शुभकामना प्रदान गर्दैै आगामी दिनमा समेत कम्पनीले आर्थिक अनुशासन, सुशासन र पारदर्शितामा कमी आउन नदिने विश्वास ब्यक्त गरे । 

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले नेपालमा दूरसञ्चार सेवा भित्र्याउन महत्वपूर्ण योगदान गरेकाले पनि कम्पनीप्रति सबैको अपनत्व भएको बताए । प्रविधिमा भएको परिवर्तनलाई आत्मसात गरी गुणस्तरीय सेवा प्रदान गर्नु र यसको बजारीकरण समेत गर्नु आवश्यक भएकाले त्यसैअनुसार आगामी दिनमा कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले प्रतिस्पर्धाको बजारमा सधैँ सतर्क रहनु पर्ने आवश्यकता औंल्याउँदै नवीनतम प्रविधिको माध्यमबाट सधै सेवाग्राहीलाई सन्तुष्टी प्रदान गर्न सुझाव दिए । उनले लामो समयदेखि सेवा प्रदान गरिरहेको र विश्वसनीय समेत भएकाले नेपाल टेलिकमलाई नै प्राधिकरणले समेत विश्वास गरिरहेको बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हाल १ करोड ६२ लाख ग्राहक आधार भएको कम्पनीले प्रत्येक वर्ष सरकारलाई समेत सबैभन्दा बढी कर तिरेर सम्मानित भएको जानकारी गराइन् । कम्पनीलाई अझै प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउने प्रक्रियामा रहेको र यसका लागि परामर्श कार्य एक वर्षमा पूूरा हुने अपेक्षा व्यक्त गरिन् । उनले कम्पनीले वार्षिकोत्सवका अवसरमा विभिन्न छुटको सुविधा उपलब्ध गराएको समेत जानकारी दिइन् ।

कम्पनीले सिंहदरबार अगाडिको यूएनआई शान्तिमार्ग मर्मतका लागि ४० लाख रुपैयाँ सहयोग गरेको छ । संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले सो बराबरको चेक शनिवार नै काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई हस्तान्तरण गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा कम्पनीमा २० वर्ष भन्दा बढी सेवा गर्ने काठमाडौ क्षेत्रका कर्मचारीहरुलाई संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले दीर्घसेवा पदकले सम्मानित गरे ।

काठमाडौं क्षेत्रका १ सय ३० कर्मचारीहरु सहित अन्य क्षेत्र समेत गरी २ सय ६३ कर्मचारीलाई सो पदकले सम्मानित गरिएको टेलिकमले जनाएको छ । त्यसैगरी उत्कृष्ट कार्य गरे बापत ५० हजार रुपैयाँ राशीको पुरस्कार सहित १० जना कर्मचारीलाई मन्त्री कार्कीले सम्मान गरे । प्रशंसनीय कार्य गरे वापत १७ जना कर्मचारीलाई संसदको सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले प्रमाणपत्र सहित सम्मान गरे ।