काठमाण्डौ । सर्वसाधारणका लागि प्रिमियममा आइपीओ निश्कासन गर्ने प्रस्ताव गरेको रु रु जलविद्युत परियोजना लिमीटेडले रेटिङ एजेन्सीबाट आइपीओ ग्रेड थ्रीको रेटिङ पाएको छ । 

रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आउन लागेको आइपीओलाई औसत आधारहरु जनाउने आइपीओ ग्रेड थ्रीको रेटिङ प्रदान गरेको हो । 

यो कम्पनीले रु. ८ करोड ९६ लाख ९५ हजार २२० (प्रस्तावित प्रिमियम सहित) बराबरको आइपीओ निश्कासनको माग गर्दै यसअघि नै धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । 

प्रस्ताव गरिएको कुल कित्तामध्ये ४ लाख ७ हजार ७०५ कित्ता आयोजना प्रभावितका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले निश्कासन गर्ने भनिएको छ । 

बाँकी रहेको ४ लाख ७ हजार ७०६ कित्ता चाहिँ सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपी रु. १२० को दरले निश्कासनको प्रस्ताव गरिएको छ । 

कम्पनीले चुक्तापूँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको आइपीओ आयोजना प्रभावित र १० प्रतिशत बराबरकै आइपीओ सर्वसाधारणका लागि निश्कासन गर्न खोजेको हो । 

कम्पनीले असार २५ गते बोर्डमा आइपीओका लागि आवेदन दिएको छ । बोर्डले कम्पनीको प्रस्तावको विषयमा आवश्यक अध्ययन भइरहेको जनाएको छ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । 

रु रु जलविद्युत परियोजना लिमीटेडले गुल्मी जिल्लाको हुग्दी खोलामा माथिल्लो हुग्दी खोला जलविद्युत परियोजना निर्माण गरिरहेको छ । यो आयोजना ५ मेगावाट क्षमताको रहेको छ । परियोजनाको लागत ७५ करोड रुपैयाँ बराबरको हुने र वार्षिक आम्दानी १६ करोड हाराहारीमा हुने प्रक्षेपण गरिएको छ ।