काठमाण्डौ । जीवन बिमा कम्पनीहरुमध्येकै टप नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम संकलनबाट हुने आम्दानीमा छलाङ मारेको छ । 

यो कम्पनीले अघिल्लो वर्षको दोश्रो त्रैमासमा प्रिमियमबाट ७ अर्ब १४ करोड आम्दानी गरेकोमा यो वर्ष बढेर १० अर्ब ४७ करोडको उचाईमा पुगेको हो ।

कम्पनीले १० लाख ८० हजारमा सीमित बिमालेख संख्या बढाएर १२ लाख ९ हजार माथिको उचाई चुमाएको छ । 

अघिल्लो वर्ष २७ करोड ९६ लाखमा सीमित खूद नाफा बढेर २८ करोड ५ लाख माथि पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय २ अर्ब १८ करोडको उचाईमा पुर्याएको छ । अघिल्लो वर्ष यस्तो आय १ अर्ब ८७ करोडमा सीमित थियो।

बिमालेखको धितोमा कर्जाबाट हुने ४५ करोड ९० लाखबाट बढाई ४९ करोड ९४ लाख पुर्याएको छ भने ४६ लाखमा सीमित पुनर्बिमा कमिसनबाट हुने आय बढाएर १ करोड ५१ लाख पुर्याएको छ । 

कम्पनीको दाबी भुक्तानी समेत बढेको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब २५ करोड बढीको दाबी भुक्तानी गरेको यो कम्पनीले समीक्षा अवधिमा ५ अर्ब २० करोड बढी दाबी भुक्तानी गरेको छ । 

अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बिमा अझै बलियो देखिएको छ।

अघिल्लो वर्षको यही अवधिसम्म ४५ अर्ब ६३ करोडमा सीमित जीवन बिमा कोषको आकार बढी यो वर्ष ५६ अर्ब ७३ करोडको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष ५ अर्ब २ करोड रहेको जगेडाकोषको आकार घटी ३ अर्ब  ७३ करोडमा सीमित भएको छ भने महाविपत्ति जगेडाको आकार ३२ करोड ५३ लाखबाट बढेर ३७ करोड ११ लाखको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १२.७६रुपैयाँ(पछि परिवर्तन हुने), प्रतिसेयर नेटवर्थ १९३.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८६.५२ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४८४ रुपैयाँ र औसत प्रतिफल दर १०.५५ प्रतिशत कायम भएको छ ।