काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा प्रिमियम संकलनमा छलाङ मारेको छ ।

यो अवधिमा नेपाल लाइफले १५ अर्ब १९ करोड प्रिमियम संकलन गरेको हो। 

अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १० अर्ब ६९ करोड मात्र प्रिमियम संकलन गर्न सकेको थियो। यसरी प्रिमियम संकलनमा कम्पनीले ४२ प्रतिशतको छलाङ मारेको देखिन्छ। 

कम्पनीले समीक्षा अवधिमा ४६ करोड ७२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो नाफा ७.२१ प्रतिशतले बढी हो । 

कम्पनीले पोलिसी होल्डरको संख्यामा समेत निकै राम्रो वृद्धि गरेको छ । अघिल्लो वर्ष ११ लाख १२ हजारमा सीमित यस्तो संख्या बढेर यो वर्ष १२ लाख ३९ हजार पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीले ६.५६ अर्बको दाबी भुक्तानी गरेको छ । 

यस्तै, कम्पनीको जीवन बिमा कोषको आकार ४७.६८ अर्बबाट बढेर ५९.४६ अर्बकोृ उचाईमा पुगेको छ । 

समीक्षा अवधिसम्म कम्पनीको चुक्तापुँजी ४ अर्ब ३९ करोड र रिजर्ब ५ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। 

यो अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) १४.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३७.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७७.२७ गुणा कायम भएको छ । 

नेपाल लाइफले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । जेठ ४ गते आह्वान भएको एजीएमबाट यो प्रस्ताव पारित हुँदैछ ।