-भक्तराज रसाइली
काठमाण्डौ । बाल्यकालमा १०-१२ वर्षको उमेरमा गाउँघरमा रमाइलो गरी दसैँ मनाएको सम्झनाले प्रियराज रेग्मी रोमाञ्चक हुन्छन् । दसैँ अनुभव सुनाउँदा उनी बालापन झल्झल्ती सम्झिन्छन् । 

रेग्मी स्टक ब्रोकर नम्बर ५० क्रिस्टल कंचनजङ्घा सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष हुन् । उनी स्टक ब्रोकर्स एसोसिएसन नेपालका पूर्वअध्यक्षसमेत हुन् ।

गोरखाको भीमसेन–१ घर भएका रेग्मीको सपरिवार हाल काठमाण्डौ वनस्थलीमा बसोबास गर्छन्। ‘उमेरअनुसार दसैंको धारणा फरक–फरक हुने रहेछ’, रेग्मी भन्छन्, ‘मीठो खाने, रमाइलो गर्ने अनि राम्रो लगाउने बाल्यावस्थामै रहेछ ।’

देवीदेवताका पूजा विशेषगरी काली दुर्गामाताको पूजा आराधना गर्दै दसैं मनाउने अनुभव सँगालेका रेग्मीले इष्टमित्रको भेटघाट चाहिँ रमाइलो लाग्ने बताए । ‘महाभूकम्पमा परी गोरखाको घर भग्नावेश भएकाले बुवा–आमा सबै काठमाण्डौमा बसेर दसैं मनाउँछौँ’, रेग्मी भन्छन्, ‘१०-१२ वर्षको उमेरमा गाउँले परिवेशमा दसैंको रौनक छुट्टै हुन्थ्यो । बाल्यकालमा मामाघर टीका लगाउन जाने भनेपछि त मन झनै पुलकित हुन्थ्यो ।’

मद्यपानरहित दसैं मनाउने रेग्मी मांसाहारी भोजन गर्दा रहेछन् । परिवारमध्येका ज्येष्ठ सदस्य ७० वर्षीय बुवाको हातबाट दसैंमा टीका ग्रहण गर्न गइरहेका उनी दसैं बिदामा परिवारसँग बसेर रमाइलो अनुभव सँगाल्ने योजनामा छन् । 

दसैंकै टीकाको दिन २०६० सालमा गाउँबाट काठमाण्डौ फर्किने क्रममा मलेखुमा बाइक दुर्घटना हुँदा घुँडामा चोट लाग्दा नरमाइलो घटनासमेत रेग्मीले भोग्नुपर्यो । शक्तिपीठमा पूजाअर्चना गरी दसैं मनाउन गइरहेका रेग्मी दसैंपछि चाहिँ विदेश भ्रमण जाने योजना बुनेका रहेछन् ।

रीतितिथि आत्मसाथ गर्दै दसैं भव्यरुपमा खानपिनमा सचेत हुँदै सामान्य किसिमले दसैं मनाउनुपर्ने रेग्मीको धारणा छ ।