काठमाण्डौ । प्रोफेसनल दियालो विकास बैंकलाई गाभेको लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५६ करोड ९१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बिहीबार प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो वर्ष यही अवधिमा ४४ करोडको हाराहारीमा खुद नाफा आर्जन भएको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ८९ करोड खुद ब्याज आम्दानी भएकोमो यो वर्ष बढेर १ अर्ब १७ करोडको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष ६१ करोड ५९ लाख संचालन मुनाफा भएकोमा यो वर्ष वृद्धि भई ७३ करोड ६२ लाखको उचाईमा पुगेको छ ।

बैंकले यो अवधिमा ५७ अर्ब ८० करोड निक्षेप संकलन गरी ५० अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४३ अर्ब ७१ करोड निक्षेप संकलन गरी ३६ अर्ब ६८ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकको जगेडा कोषमा चाहि निकै ठूलो वृद्धि देखिएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा रिजर्ब १४४ प्रतिशतले वृद्धि भई ४ मर्ब ३२ करोड पुगेको छ ।

लक्ष्मी बैंकको निस्क्रिय कर्जा अनुपात पनि यो अवधिमा बढेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १.२८ प्रतिशतमा सीमित निस्क्रिय कर्जा अनुपात यो वर्ष सोही अवधिमा बढेर १.७९ प्रतिशतमा पुगेको छ ।

प्रोफेसनल दियालोलाई गाभेर समेत बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २४ रुपैयाँ २ पैसा कायम भएको छ, अघिल्लो वर्ष यही अवधिमा इपीएस १९ रुपैयाँ ३१ पैसा मात्र थियो । बैंकको प्रति सेयर नेटवर्थ २३७ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात १९.९८ गुणा कायम भएको छ ।