काठमाण्डौ । फक्सबेगन कम्पनीको कार खरीद गर्नुहुँदैछ ? एकछिन पख्नुहोस्, पछिल्लो समय उत्पादन भई संसारभरि बिक्री भइरहेका यो कम्पनीको ११ लाख कारमा दुर्घटना र त्यहाँबाट उत्सर्जन हुने खराब ग्याँसले मानव स्वास्थ्य समेत उच्च जोखिममा रहेको भन्दै जर्मनीको एक जाँच एजेन्सीले छानबिन गरिरहेको छ । 

जर्मनीको जाँच एजेन्सीले फक्सबेगन कम्पनीमाथि जाँचको दायरा बढाउने घोषणा गरेको छ । फक्सबेगनका पूर्व प्रमुख मार्टिन विन्टरक्रोनसँगै अटो पार्टस् सप्लाई गर्ने कम्पनीमाथि पनि छानबिन जारी राखिएको छ । कम्पनीमाथि डिजेलले चल्ने बाहनमा लगाइने कार्बन उत्सर्जन गर्ने उपकरण कम गुणस्तरको लगाएको र कतिपय पार्टस्हरु सुरक्षाको हिसाबले जोखिमपूर्ण जडान गरी विश्वलाई ठग्ने काम गरेको आरोप लागेको छ । 

जर्मनीको जाँच एजेन्सीले अहिलेसम्म फक्सबेगनका पूर्व प्रमुखलाई मात्रै प्रमुख दोषी मानेर छानबिन गरिरहेकोमा अब अन्यत्र समेत जाँचको सूूईँ मोडिएको छ । कम्पनीलाई अटो पार्टस् सप्लाई गर्ने कम्पनी आईएवीसहित अन्य २१ संस्थाविरुद्ध समेत छानबिन थालिएको एजेन्सीहरुले जनाएका छन् । कयौ मानिसहरुसँग सोधपुछपछि छानबिनकर्ताहरुको हातमा नयाँ प्रमाण पनि आएका बताइएको छ । 

सन् २०१५ मा फक्सबेगनको फट्याईं र इञ्जिनमा गरिएको गडबडीको सनसनीपूर्ण खुलासा भएको थियो । सो बेला कम्पनीको प्रमुख मार्टिन विन्टरक्रोन थिए । उनीमाथि आफ्ना ग्राहकहरुलाई धोका दिएको आरोप लागेको थियो । हुन त पहिला फक्सबेगनले आफूमाथि लागेको आरोपको खण्डन गरेको थियो । तर जाँच अधिकारीहरुले आफ्नो छानबिनलाई जारी राखे र २८ वटा घर तथा कैयन कार्यालयहरुमा छापा मारे । त्यसपछि मात्र फक्सबेगनको फट्याईको प्रमाण भेटियो । 

त्यसपछि मात्र कम्पनीले आफ्नो कमजोरी स्वीकार गरेको थियो । त्यसपछि कम्पनीले स्वयम्ले विश्वभर बेचिएका ११ लाख कारमा कमजोर उपकरण लगाइएको र त्यसले ग्राहकको जीवन तथा स्वास्थ्यमै पनि ठूलो जोखिम ल्याउनसक्ने तथ्य स्वीकार गरेको थियो ।