काठमाण्डौ । सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो(फर्नेक्स २०१९) सुरु भएको छ । 

बुधबार एक कार्यक्रमकाबीच उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गरे । 

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा एक्स्पो सुरु भएको हो । राजधानीको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ । 

एक्स्पोको उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मानिसको जीवनमा जुनसुकै बेला पनि आवश्यक पर्ने फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताए । सरकारले व्यवसायीमैत्री वातावरण बनाउनभन्दा पनि व्यवसायीलाई तर्साउने काम गरेको उनको आरोप छ । पहिले थुन्ने अनि पछि सुन्ने सरकारको नीतिले निजी क्षेत्र अघि बढ्न नसक्ने बताए । उनले निजी क्षेत्रले सरकारलाई विश्वास गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले कच्चा पदार्थको सहज उपलब्धता नभएका कारण मुलुकमा फर्निचर व्यवसाय फस्टाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । दक्ष जनशक्तिको अभाव सँधै खड्किँदा अन्य मुलुकबाट जनशक्ति आयात गर्नु पर्ने अवस्था आएको भन्दै उनले प्रोत्साहनमुखी ठोस नीति ल्याउन सरकारसँग आग्रह गरे । मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायी रहेका र ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको भए पनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको उनको गुनासो थियो । 

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शाकार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ ।

त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । 

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसनप्रालिले गरेको छ । विगतवर्षको तुलनामा परिस्कृत रुपमा एक्स्पो सुरु गरिएको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ । 

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।