काठमाण्डौ । प्रस्तावित लाभांश पारित गर्ने मुख्य अजेन्डासहित फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दसौँ वार्षिक साधारणसभाको मिति, समय र स्थान तोकेको छ ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति, समय र स्थान तोकेको हो । संस्थाले यही असोज २८ गते साधारणसभा गर्ने निर्णय गरेको छ । जसअनुसार बिहान १० बजदेखि काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्याङ्केटमा साधारणसभा सुरु हुनेछ ।

साधारणसभामा यसअघि संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरिएको चुक्तपुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँको १७ प्रतिशतले हुन आउने ११ करोड ६३ लाख ४६ हजार ९४६ रुपैयाँबराबरको बोनस सेयरको मुख्य अजेन्डा पारित हुनेछ । त्यससँगै साधारणसभामा बोनस सेयर कर प्रयोजनार्थ यसअघि नगद लाभांशका रुपमा वितरण गर्ने भनी प्रस्ताव गरिएको ६१ लाख २३ हजार ५२३ रुपैयाँ नगद लाभांश पनि पारित हुनेछ ।

साधारणसभाले संस्थाको हालको चुक्त पुँजी ६४ हजार ४३ हजार ९३ हजार ८०० रुपैयाँलाई बढाएर ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँ पुर्याउने मुख्य अजेन्डा पनि पारित गर्नेछ । 

त्यस्तै गत आर्थिक वषको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसहित अन्य महत्वपूर्ण प्रतिवेदनहरु पनि साधारणसभामा छलफल गरी पारित हुनेछ ।