काठमाण्डौ । काठमाडौंको नक्सालमा बन्न लागेको डबल ट्री हिल्टन होटलको स्वीकृत मापदण्डमै समस्या देखिएको छ । काठमाडौं महानगरपालिसँग अनुमति लिई जगदम्बा हस्पिटालिटीले करिब ६ महिना आगाडिबाट निर्माण सुरु गरेको होटलले सडक र पूर्वाधार निर्माणको मापदण्ड पूूरा नगरेको पाइएको हो । 

यो होटल निर्माण र सो क्रममा पहुँच र पैसाको भरमा देखाइएको नांगो नाच तथा हदैसम्मको हेपाहा प्रवृतिले प्रभाव र पँहुच हुनेलाई नेपालमा जे गर्न पनि छुट छ भन्ने देखाएको छ । 

काठमाडौं महानगरपलिकाको स्वीकृतिमा ६ महिनाअघि निर्माण थालिएको यो होटल नक्साल र भगवती बहालको ऐतिहासिक बस्तीकै लागि खतरा साबित भइसक्दा समेत राज्यको निकाय चूपचाप बसेका छन् । सडक मापदण्ड मिचेर निर्माण थालिएको यो होटलले भवननिर्माणको आधारभुत मापदण्डसमेत लत्याएको छ । 

यसैबीच, पैसा र शक्तिको आडमा स्थानीयको जोखिममा रहेका घर किन्ने र विरोधका स्वर सामसुम पार्ने प्रयास निर्माण पक्षले थालेको बुझिएको छ । महानगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङको गैरजिम्मेवार प्रतिक्रिया र अन्य निकायका जिम्मेवार अधिकारीहरुको हदैसम्मको बेवास्ताले समेत यो कुरा पुष्टि गर्न थप बल पुर्याएको छ । उनले निर्माणको क्रममा निकै ठूलो त्रुटि देखिएको बताए पनि कारबाहीको बिषयमा चाहि केही बोलेनन् । ‘अन्तराष्ट्रिय ब्राण्डको होटललाई हामीले कारबाही गर्न मिल्दैन ।’ उनले भने–‘पहिला त्यहाँ देखिएको समस्या सुुल्झाउनुपर्यो ।’ उनले होटल व्यवस्थापनले वरपर चर्किएका घरमध्ये केहीलाई क्षतिपूर्ति दिइसकेको समेत दाबी गरे । ‘उहाँहरुले धेरै क्षतिग्रस्त २–३ वटा घर नै किनेर स्थानीयलाई अर्को ठाउँमा सार्नेसम्मको काम गर्दै हुनुहुन्छ ।’ होटलको प्रवक्ता बनी प्रस्तुत भएका कार्यकारी अधिकृतले भने–‘क्षति व्यहोरेका सबैलाई उहाँहरुले म्यानेज गर्नुहुन्छ ।’ कार्यकारी अधिकृतको यो भनाईले समेत समस्या निकै विकराल रहेको, यो समाधानका लागि राम्रै पैसाको चलखेल भएको र पैसाकै कारण सरकारी निकाय चूपचाप बसेका बुुझ्न गाह्रो छैन ।  

जगदम्बा हस्पिटालिटि, हिल्टन इन्टरनेश्नललगायत थुप्रै व्यापारिक घरानाको ठूलो लगानी रहेको यो होटलले पहिलो चरणमा ‘अण्डरग्राण्ड’का तीन तला बनाउने काम सुरु गरेको थियो । दुई तलाभन्दा बढी ‘अण्डरग्राउण्ड’ जान नपाईने भवन निर्माण मापदण्ड हो, तर यही मापदण्डको खुलेआम खिल्ली उड्दा समेत सर्वसाधारणलाई मापदण्डको नाममा दुःख दिने निकाय चूपचाप बसेका छन् ।

कुनैपनि संरचना निर्माणका लागि जमिनको क्षेत्रफल महत्वपूर्ण हुन्छ । जमिनको क्षेत्रफलमा कति खुला छाडिएको छ भन्ने आधारमा उचाई निर्धारण हुन्छ । निर्माणाधीन होटल यी सबै मापदण्डमा चुकेको छ ।

मुख्य सडकबाट ६ मिटर टाढा संरचना बनाउनु पर्ने नियम भए पनि होटलले सडकको किनारा नै छोएको छ, यी तस्विरहरुले समेत होटल निर्माणका नाममा जगदम्बा हस्पिटालिटीले देखाएको दादागिरी प्रष्टिन्छ । यही कारण विगत १५ दिनभन्दा बढी समयदेखि सार्वजनिक सडक नै अबरुद्ध छ । 

स्थानीयले पैसा र पावरको भरमा आफूहरुको थातथलो जोखिममा पार्नेहरुलाई सरकारले कारबाही नगरेकोमा आश्चर्य व्यक्त गरेका छन् । उनीहरुले स्थानीय वडा कार्यालयदेखि महानगरपालिकाका अधिकारी समेत पैसामा बिकेका आरोप लगाएका छन् । ‘जुनसुकै ग्रुप होस्, यति ठूलो क्षति गराउनेहरुलाई किन यसरी छाडिँदैछ, हामी आश्चर्यमा छौ ।’ स्थानीयहरु भन्छन–‘जनताको आँखामा छारो हालेर टालटुल पार्ने काम गरिदैछ, भूकम्प भन्दा ठूलो क्षति गराउनेमाथि किन कारबाही नभएको हो जनतालाई प्रष्ट भनिदिनुपर्छ ।’ स्थानीयहरुले होटल निर्माणको नाममा ९० फिट भन्दा गहिरो खाल्डो खनिएको दाबी गर्दै भवितव्य यस्तो भएको भन्दै होटलका लगानीकर्ता पन्छिएकामा आश्चर्य व्यक्त गरेका छन् । ‘भूकम्पजस्तै भवितव्य हो भनेर हामीलाई थामथुम पार्न खोजिएको छ ।’ स्थानीयले भने ।

पुरातात्विक महत्व राख्ने काठमाडौंस्थित नक्साल–भगवतिवहाल क्षेत्रको पुरानो बस्ती नै जोखिममा पार्ने गरी झण्डै ६ रोपनी क्षेत्रफलमा निर्माणाधीन होटल निर्माण कार्य आखिर रोक्ने कस्ले ? जथाभावी भइरहेको मनपरीमा ध्यान दिने कसले ? बाटोको संरचना नै ध्वस्त हुने गरी र स्थानीयको दर्जन बढी घरहरु चर्किने गरी पैसा र पावरको भरमा भइरहेको कानूनीको धज्जी उडाउने कार्यमाथि कसले अंकुश लगाउने ? दुुई सातादेखि यस्ता प्रश्न स्थानीयले गरिरहेका छन्, तर जवाफ कतैबाट पाउन सकेका छैनन् ।