काठमाण्डौ । पैसाको खोलो बगाएर सर्वसाधारणको घर, प्राचीन महत्वको सम्पदा तथा अति व्यस्त सार्वजनिक सडक नै ध्वस्त पारी १६ तले डबल ट्री हिल्टन होटल निर्माण गरिरहेको जगदम्बा हस्पिटालिटीको दादागिरी देखेर सांसदहरु आगो भएका छन् । 

गैरकानूनी ढंगले जथाभावी होटल निर्माणका लागि ९० फिट गहिरो खाल्डो खनेर सार्वजनिक सडक ध्वस्त र स्थानीयको घर समेत क्षतिग्रस्त पारेको करिब ३ सातापछि सोमबार व्यवस्थापिका संसदको सुशासन समितिले नक्सालको भगवती बहाल क्षेत्रमै निर्माण भइरहेको होटलले गरेको मनपरी र व्यवस्थापकले कानूनको धज्जी उडाएको प्रत्यक्ष हेर्ने अग्रसरता देखाए । 

सो क्रममा जगदम्बा हस्पिटालिटीको दादागिरी देखेर र त्यसमा नियमनकारीहरुको कमजोर भूमिका देखेर सांसदहरु आक्रोशित बने । 

संसदीय समितिको अनुुगमनको क्रममा होटल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन(इआइए रिपोर्ट) नै तयार नगरिएको समेत फेला परेको छ । सो होटल नेपालकै ठूलो शंकर ग्रुप र केही विदेशीहरुको लगानीमा ५ रोपनी क्षेत्रमा निर्माण थालिएको हो । शंकर ग्रुपले पैसाको खोलो बगाएर सार्वजनिक र निजी सम्पत्ति ध्वस्त हुने गरी काम गर्दा समेत नियामक निकायहरु कसैले मुख खोलेका थिएनन् । सबै निकाय सो ग्रुपको पैसामा बिकेका आशंका गरिएको थियो । 

सुशासन समितिका सभापति सांसद मोहनसिंह राठौरले काठमाडौं महानगरपालिकाका इञ्जिनियरसँगको मिलेमतोमा इआइए रिपोर्ट नै तयार नगरी भवन निर्माण थालिएको पाइएको उल्लेख गर्दै यो मिलेमतोमा संलग्न सबै निकायलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘केही मिडियाहरुले लेखिरहेको कुरा आज प्रत्यक्ष आएर हेर्दा देखेको र पढेको भन्दा भयावह अवस्था देखियो । सडक छेउमा भवन बनाउँदा बेसमेन्ट र साइड वाल तथा सडकका लागि सम्भावित क्षतिको कुनै आँकलन नै नगरी पैसा खाएको भरमा निर्माणको अनुमति दिएको देखिएको छ । यस्तो फट्याई गर्नेलाई छाडिन्न ।‘ 

समितिका सदस्य तथा सांसद अकवाल अहमद साहले त व्यस्त र साँघुरो क्षेत्रमा १६ तला अग्लो डबल ट्री होटल निर्माण इजाजत दिनुु नै त्रुटिपूर्ण रहेकोमा आक्रोश पोखे । ‘यति साँघुरो र सानो ठाउँमा कसरी पाँचतारे होटल बनाउन अनुमित दिइयो ?’ प्रश्न गर्दै उनले संचारकर्मीसँग भने–‘महनगरपालिकाले भवन निर्माणको स्वीकृति दिने क्रममै ठूलो फट्याई गरेको देखिन्छ । सबैलाई छानबिनको दायरामा ल्याइनुपर्छ ।’

अनुुगमनमा सहभागी सांसदहरु मिलन राजवंशी, ध्यानगोविन्द रञ्जित लगायतले महानगरका भ्रष्ट कर्मचारीलाई किनेर जगदम्बा हस्पिटालिटीले कानूनको धज्जी उडाएको भन्दै आक्रोश पोखे । उनीहरुले उद्योगीको पैसामा कर्मचारी बिक्दा जनताले दुःख पाएका र सार्वजनिक सडक तथा महत्वपूर्ण प्राचीन सम्पदा समेत खतरामा परेको देखिएकाले सो क्षेत्रमा होटल निर्माणमै रोक लगाउनुपर्ने धारणा राखे । ‘प्रहरीको प्रधान कार्यालय रहेको स्थानमा कसरी बनाउन मिल्छ यस्तो होटल ?’ प्रश्न गर्दै उनीहरुले भने–‘सुरक्षाको दृष्टिकोणले समेत यो ठाउँमा यस्तो होटल बनाइनुहुन्न, यो निर्माण तत्काल रोक्नुपर्छ ।’

अनुुगमनको क्रममा घटनास्थलमा भेटिएका शंकर ग्रुपका कर्मचारीहरुले होटलले महानगरपालिकासँग १४ मिटरको बेसमेन्ट खन्ने स्वीकृति लिए पनि सडक भत्किएपछि १० मिटरको गहिराईबाट बेसमेन्ट लगाउन सुरु गरिएको दाबी गरे । उनीहरुका अनुसार कम्पनीले दुईतल्ले बेसमेन्टका लागि स्वीकृत लिएको भए पनि अब एक तल्लामा मात्र डबल पार्किङ सिस्टम बनाउनेछ । आफूहरुले खनेको गहिरो खाल्डोका कारण वरिपरिका घर भत्किने अवस्था भएपछि २ तले पार्किंग बनाउने पूर्वयोजना रद्ध गरिएको उनीहरुको दाबी छ। 

स्मरण रहोस्, काठमाण्डौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामांगले यसअघि अन्तराष्टिय स्तरको होटल भएकोले निर्माण रोक्न नमिल्ने जवाफ दिएका थिए । उनले होटलको पक्षमा लागेर बचाउने अभिव्यक्ति दिएका थिए । तर अब सांसदहरुकै अनुुगमनको क्रममा इआइए रिपोर्ट नै तयार नगरी निर्माण इजाजत दिएको फेला परेपछि उनी लगायत महानगरपालिकाका इञ्जिनियर र सम्बद्ध अन्य कर्मचारी समेत कारबाहीका दायरामा तानिने संभावना बढेको छ। 

यो पनि हेर्नुहोस :

►फलोअप १ : नक्सालमा भूकम्प ल्याउने हिल्टन होटल निर्माणमै त्रुटि !

►जगदम्बा हस्पिटालिटीको यो कस्तो दादागिरी ? राज्य किन यति निकम्मा ?