काठमाण्डौ । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिकमा अघिल्लो वर्ष सोही अवधिको तुलनामा ३१.३१ प्रतिशत खुद नाफा बढाउन सफल भएको छ । 

कम्पनीको बिहीबार सार्वजनिक चौथो त्रैमासिक प्रतिवेदन (लेखापरीक्षण हुन बाँकी) अनुसार खुद नाफा रु १३ करोड ३२ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा रु १० करोड १४ लाख रहेको थियो । 

यसैगरी कम्पनीले व्यवसाय विस्तारमा पनि आक्रामक गति समातेको उसको खुद ब्याज आम्दानीतर्फको बढोत्तरीले देखाउँछ । कम्पनीको खुद ब्याज आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा रु ४ करोड ६५ लाखले वृद्धि भएर रु २१ करोड २३ लाख पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षमा रु. १६ करोड ५८ लाख थियो । 

कम्पनीको सञ्चालन मुनाफा रु २१ करोड १४ लाख पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिमा रु. १५ करोड ९४ लाखमा सीमित थियो । 
समीक्षा अवधिमा उसले रु १ करोड ३८ लाख सम्भावित नोक्सानीका लागि छुट्याएको छ । 

यो अवधिमा कम्पनीले रु. ५ अर्ब १४ करोड सापटी लिई रु. ५ अर्ब ५० करोड बढी ऋण प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले रु. ३ अर्ब ८६ करोड सापटी लिई रु. ४ अर्ब १३ करोड बढी ऋण प्रवाह गरेको छ । 

कम्पनीको समीक्षा अवधिमा चुक्ता पुँजी रु. ६८ करोड ४३ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले जगेडा तथा सञ्चित कोषमा १३५.६७ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्ष रु. ९ करोड ८१ लाखमा सीमित यस्तो कोषको आकार बढेर समीक्षा अवधिमा रु. २३ करोड १४ लाख पुगेको हो । 

कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.३१ प्रतिशतले बढेर रु. १९.४६ पैसा पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष रु. १४.८२ पैसा थियो । कम्पनीको प्रतिसेयर नेट वर्थ रु.१३३.८१ पैसा, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १९.२७ गुणा रहेको छ ।