काठमाण्डौ । ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने मूल नाराका साथ आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म नेपाल छालाजुत्ता उत्पादक संघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा छैठौं बृहत राष्ट्रिय छालाजुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने भएको छ । 

नेपाली साना घरेलु तथा लद्यु उद्योेगहरुलाई बैज्ञानिक रुपले आधुनिकीकरण गरी भविष्यमा बिदेशी बजारमा समेत सुपरीचित गराउँदै राष्ट्रिय अर्थतन्त्रमा परिवर्तन ल्याउने लक्ष्यका साथ मेला आयोजना हुन लागेको अध्यक्ष जीवन नेपालीले जानकारी दिए । 

मेला अवधिभरि ८० हजार दर्शकको सहभागिता रहने अनुमान गरिएको छ । जुत्ताका सौखिन पारखीहरु, आम सचेत उपभोक्ताहरु, जुत्ताको कच्चा पदार्थका आपूर्तिकर्ता तथा खरीदकर्ताहरुलाई लक्षित गरिएको मेला संयोजक राजेश बिशंखेले जानकारी दिए । 

मेलामा प्रतिष्ठित ब्रान्डका गुणस्तरीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री वितरण हुने बताइएको छ 

पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनिक छालाजन्य वस्तु प्रर्दशन गर्ने, त्यस्ता बस्तुमा ६ महिना वारेन्टी तथा १५ देखि २५ सम्म छुट दिने महासचिव बासु नेपालीले जानकारी दिए । 

गुणस्तरीय कच्चापदार्थ तथा दक्ष जनशक्ति प्रयोग गरी उत्पादन गरिएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्पद्वारा निर्मित बस्तुहरु पनि प्रर्दशन तथा बिक्रीवितरणको लक्ष्य राखिएको छ । 

मेलामा न्युनतम् देखि उच्चतम् मुल्य तिर्न सक्ने सबै खाले उपभोक्ताहरुको लागि गुणस्तरीय तथा आरामदायी तथा आर्कषक छालाका जुत्ता तथा छाला जन्य वस्तुहरु उपलब्ध हुनेछन् ।