- भक्तराज रसाइली

काठमाण्डौ । सामान्यतया दुई डुंगामा खुट्टा राख्नु करियरका लागि निकै चुनौती मानिन्छ । चुनौतीलाई व्यवस्थापन गर्ने कला र धैर्य थोरै मानिसमा हुन्छ र त तिनै व्यक्तित्वको नाम इतिहासमा लेखिन्छ ।

चलचित्र कलाकारिता र सेयर बजारलाई एकसाथ लैजाँदै गरेका चर्चित अभिनेता हुन्, आयूष रिजाल । २०५६ सालदेखि कलाकारितामा प्रवेश गरेका उनले लिड रोलमा २०६४ सालमा ‘हिफाजत’ नामक चलचित्रबाट ब्रेक पाए । 

टेलिभिजन प्रस्तोता हुँदै प्रवेश गरेका रिजाल अन्जु पन्तको ‘नबिर्से तिमीलाई, नपाएँ तिमीलाई’ बोलको चर्चित गीतमा अभिनय गरेपछि एकाएक चर्चा आए। उनले हालसम्म नेपाली र भोजपुरी गरी चार दर्जन चलचित्रमा काम गरिसकेका छन् । 

विगत ६ वर्षदेखि पूँजीबजारमा समेत पाइला राखेका रिजाल हाल भिडियो, लघु चलचित्र, डकुमेन्ट्रीमा निर्देशन र न्यारेटरमा व्यस्त छन् । सुटिङ नहुँदाको फुर्सदिलो समयमा उनी अनामनगरस्थित ब्रोकर नम्बर ३८ मा देखापर्छन् । 

उसो त सेयर बजारमा रस भिजेका अभिनेता रिजाल सुटिङबाटै पनि फोनसम्पर्क गरेर सेयर खरिदबिक्रीमा सक्रिय हुने गरेको बताउँछन् । धादिङको थाँक्रे गाउँपालिका घर भएका उनी हाल काठमाण्डौको घट्टेकुलोका बासिन्दा हुन् ।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल र कलाकार प्रकाश दाहालको दोस्तीले सेयर बजार छिरेका रिजाललाई तिनै दुईजनाको सल्लाहलाई स्वीकार्दै अनामनगरमा रहेको ब्रोकर नम्बर ३८ का महाप्रबन्धक विष्णु ओझासँग ठोक्किए । अधिकांश नेपाली कलाकारिता क्षेत्रका व्यक्तित्वलाई सेयर बजारमा प्रवेश गराएका उनै ब्रोकर नम्बर ३८ का ओझालाई भेटेपछि दोस्रो बजारको यात्रामा अभिनेता रिजाल सेयर खरिदबिक्रीमा सक्रिय छन् । 

सुरुमै दोस्रो बजार छिरेका रिजाल बीओके पाँच सय कित्ता प्रतिकित्ता ७२३ रुपैयाँ र नेपाल बंगलादेश बैंकको १ हजार कित्ता ३२४ रुपैयाँमा खरिद गरेको सम्झिन्छन् । बजार प्रवेश गर्दा करिब १२ लाख रुपैयाँबाट लगानी थालेका रिजालले १ करोड लगानीसम्म पुर्याए ।

कलाकारिता क्षेत्रबाट भएको आम्दानीलाई लगानी विविधीकरणका लागिसमेत उनले पूँजीबजारमा लगानी गरिरहेको बताउँछन् ।

सेयर बजार अरू लगानीको क्षेत्रमध्ये व्यवस्थित पारदर्शी भएकै कारणले रिजालले समेत हात हालेको बताए । यसमा ब्रोकर र साथीभाइको सर्कलसमेतले सहयोग पुगेको रिजालले सुनाए । 

१ हजार रुपैयाँदेखि १ हजार करोडसम्म जति पनि रकम लगानीका लागि सहज र उपयुक्त सेयर बजार क्षेत्र भएको रिजालको अनुभव छ। संस्थागत र कर्मचारी व्यवस्थापन गर्नुपर्ने झन्झट नभएपछि स्वनिर्णयमा लगानीका लागि यो राम्रो क्षेत्र रहेको उनको भनाइ छ ।  सामाजिक सुरक्षाका हिसाबले समेत सुरक्षित भएकाले सेयरमा लगानी गर्न उनले सुझाए ।

कलाकारितामा पेन्सन नहुने भएकाले अहिले नै थोरैथोरै रकम सेयरमा लगानी गर्नसके कालान्तरमा वित्तीय सहयोगका लागि सघाउ पुग्ने रिजालको ठम्याइ छ । नाफा लिन भने कला र समय लाग्ने निचोडमा पुगेका रिजाल नेपालको सेयरबजार भर्खर वृद्धि चरणमा पुगेकाले भविष्य सुनौलो भएको बताउँछन् ।

गैरआवासीय नेपालीलाई पूँजीबजारमा लगानी गर्ने र रेमिट्यान्सलाई पूँजीबजारमा सदुपयोग हुनुपर्ने औंल्याउँदै रिजाल भन्छन्, ‘राष्ट्रको राजनीतिक र आर्थिक सुदृढीकरणको सूचकका रुपमा समेत हेरिने पूँजीबजारको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।’ 

२–४ वर्षमा प्रतिफल लिन नसकिने जिकिर गर्र्दै रिजालले १ दशकको समय नै लगानी गर्छु भन्ने सोच लिएर आउन नवप्रवेशीहरुलाई आग्रह गरेका छन् । पूँजीबजारलाई सागरसँग तुलना गर्दै अभिनेता रिजाल आफू विद्यार्थी भएको र पौडन प्रयत्नरत रहेको सुनाउँछन् । अनुभव र अध्ययन अपरिहार्य रहेको जिकिर गर्दै उनी धैर्यता नभएको मानिस यस क्षेत्रमा नआउन सुझाउँछन् । अल्पकालमा प्रतिफल नहुने अलिक स्लो बिजनेस भएकाले धेरै महत्वकांक्षासमेत राख्न नहुने रिजालको तर्क छ ।

करिब १ करोड हाराहारी लगानी गरेका रिजालले सेयरको लगानीलाई दुई भागमा बाँडेका रहेछन् । दैनिक खर्चका लागि अल्पकालमा लगानी गर्ने र भविष्यका लागि दीर्घकालीन लगानी भने इन्स्योरेन्स र लघुवित्तमा लगानी गरेका रहेछन् । 

सेयर बजारमा लगानी गर्दा रिजालले एलजीआइएलको १ हजार कित्ता प्रतिकित्ता ७ सय रुपैयाँमा किनेर १६ सय रुपैयाँमा बेचेर अधिक मुनाफा कमाएको दाबी गरे । त्यसो त सीएचसीएलको करिब १२ सय रुपैयाँ हुँदा किनेको सेयर हाल ५ सय रुपैयाँ आसपास हुँदा ठूलो घाटा बेहोर्नुपरेको अनुभव रिजालले सुनाए । यद्यपि सेयरमार्केटमा लगानी गरेर नाफाघाटा र कलाकारिताबाट आएको आम्दानीलाई समेत लगानी थपेका रिजालले १० वर्षको धैर्यता भए सफल हुने जिकिर गरे ।

नवप्रवेशी लगानीकर्ताहरुलाई रिजालले सेयर बजारको अध्ययन, पूर्वतयारी र क्षेत्रगत सूचनामा अपडेट हुनुपर्ने जोड दिए । इन्टरनेट, मिडिया र सिनियर अनुभवी लगानीकर्ताबाट सूत्रहरु सिक्नुपर्ने सल्लाह दिँदै रिजालले जीवनशैलीलाई समेत सन्तुलित ढंगले चलाउनुपर्नेमा  जोड दिए ।

नेप्से परिसूचकको उत्तारचढाव सामान्य रहेको उल्लेख गर्दै रिजाल भन्छन्, ‘बजार घट्नु बढ्नका लागि हो भने बढ्नु घट्नका लागि हो ।’
सेयरबाटै मासिक पकेट खर्च ५० हजार जति बनाउने गरेको खुलासा गर्दै रिजालले कालान्तरसम्म पनि सेयर बजारमै सक्रिय हुने सोच रहेको सुनाए । कलाकारिता र सेयर लगानीकर्ता दुवैको भूमिका एकदमै कठिन रहेको बताएका रिजालले मुद्रा सिर्जना गर्न सेयर लगानीकर्ताको अलिक बढी गाह्रो हुने गरेको सुनाए ।

तीन चीज अध्ययनशीलता, धैर्यता र लगानी व्यवस्थापनमा सजक भए सेयरबाट करोडपति हुन सकिने रिजाल बताउँछन् ।

नियामक नेपाल धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीहरु जागिर खानमात्र नभई जिम्मेवार र उत्तरदायी बन्नुपर्ने औंल्याएका रिजाल स्पष्ट नीति निर्देशन र प्रविधिमैत्री पूँजीबजारका लागि नियामकले ठोस कदम चाल्न सुझाउँछन् ।