काठमाण्डौ । नेपाली समाजमा छरिएका कथावस्तुलाई टपक्क टिपेर चलचित्र बनाउँदै आएका निर्देशक नवल नेपालले निर्देशन गरेको पछिल्लो फरक स्वादको चलचित्र ‘भाग् सानी भाग्’ नेपालभरका चलचित्र हलहरुमा प्रदर्शन भइरहेको छ । खासगरी मानवीय संवेदनालाई राम्रोसँग बुझ्ने निर्देशक नेपालले त्यही जगमा उभिएर यसअघिका चलचित्रहरुको कथावस्तु आफँै तयार पार्दै आएका थिए । उनले बनाएको सफल चलचित्र श्रीमान्, महसुस र लज्जामा स्त्री जातिको संवेदनालाई राम्रोसँग प्रस्तुत गरिएको थियो । 
 

यी चलचित्रहरुले उनलाई एउटा सफल निर्देशकको रुपमा प्रस्तुत गर्यो । उनलाई कतिपय दर्शक, चलचित्र बिश्लेषक, चलचित्रकर्मी र संचारकर्मीहरुले ‘नवलले एकै प्रकारका चलचित्र बनाउँछ’ भन्ने आरोप पनि लगाए । सबै प्रकारका कथावस्तुमा चलचित्र निर्देशन गर्नसक्ने क्षमता बनाएका उनले निर्देशन गरेको फरक स्वादको चलचित्र ‘भाग् सानी भाग्’ यतिबेला नेपालभरिका चलचित्र हलबाट एकसाथ प्रदर्शन भइरहेको छ । हाँस्यरस र मानवीय संवेदनालाई एकै स्थानमा राखेर बनाएको चलचित्र ‘भाग् सानी भाग्’ हेर्न लायक चलचित्र बनेको छ । यो चलचित्रबाट नवल सबै प्रकारका कथा भएका चलचित्र निर्देशन गर्न सक्छन् भन्ने समेत देखिएको छ । 
 

अघिल्ला चलचित्रमा समाजका यथार्थ घटनालाई कथाबस्तु बनाएका उनले ‘भाग् सानी भाग्’मा पनि निकै उत्कृष्ठ काम गरेका छन् । पश्चिम गाउँकी बाहुन(पण्डीत) जातिकी युवती सानी(केकी अधिकारी) र पूर्वको गाउँका युवक देव(सविन श्रेष्ठ)लाई गाउले परिवेश अनुसार सही चरित्रमा उतार्न सक्नु नै नवलको यो पटकको निर्देशन पक्षको सवल पाटो हो । कथाले बोलेअनुसारको परिवेश र पात्र छनौटमा उनले कुनै अन्याय गरेका छैनन् । पात्रहरुले बोल्ने भाषा, लवजमा पनि उनले विशेष ध्यान पुर्याएका देखिएको छ । 
 

चञ्चले गाउँकी युवती, पण्डितकी छोरी, जुन गाउँमा पण्डितकी छोरीले गाउँभरि नाच्दै हिँड्न हुन्न भन्ने संस्कार छ । परिवारभित्र पनि त्यही संस्कार छ । त्यसबीचमा राम्रो नाच्न जान्ने सानी(केकी अधिकारी)को सपना हिरोइन बन्ने छ । उनको चालमाल नराम्रो भएको भन्दै बुबा आमाले उनको विवाह गरिदिने निर्णय गर्छन् । विवाहकै दिन उनी बेहुलीकै भेषमा भाग्छिन् । उता पूर्वका युवक देव(सविन श्रेष्ठ) गाँउमा बसेर गाईपालन र खेतीपाती गर्दा गर्दै वाक्कदिक्क हुन्छन् । उनले आफू शहर जाने कुरा बुबाआमालाई गर्छन् । बुबाआमाले उनको पनि विवाह गरिदिने बताउँछन्। उनी पनि विवाह लगायतका अन्य समस्यासँग जुध्न नसकेर सहरका लागि घरबाट भाग्छन् । सहरमा पुगेपछि केकी र सविनको भेट हुन्छ ।  सहरमा फरक–फरक उद्देश्य बोकेर आएका केकी र सविन संयोगले एकै स्थानमा बस्न थाल्छन् । केकी  हिरोइन बन्ने ध्याउन्नमा लाग्छिन् भने सविन कसरी हुन्छ पैसा कमाउने भन्नेतर्फ । त्यो बीचमा उनीहरुलाई धेरै समस्याहरु आइपर्छन् । कतिपय स्थानबाट उनीहरु भाग्नुपर्ने हुन्छ र भाग्छन् । फरक उद्देश्य बोकेका फरक स्थानका युवती र युवकलाई काठमाण्डौंका स्वार्थी मानिसहरुले केबल आफ्नो फाइदाका लागि प्रयोग मात्र गर्छन् । स्वार्थी मानिसको प्रयोगमा पर्दा दुवैलाई प्रहरीले खोजी गर्छ, उनीहरु प्रहरीबाट जोगिन सहरबाट भागेर सहरनजिकैको एक गाउँमा पुग्छन् । 
 

उनीहरु पुगेको गाउँको नाम नै ‘प्रेमनगर’ हुन्छ । चलचित्रको कथा यहाँसम्म पुग्दा दर्शक राम्रोसंग हाँस्छन् । मध्यान्तरअघिसम्म दर्शकहरुले भरपूर मनोरञ्जन लिन्छन् । मध्यान्तरपछि चलचित्रले अर्कै मोड लिन्छ । प्रेमनगरमा पुगेपछि नक्कली विवाह गरेका दुवैले गाउँलेका लागि श्रीमान् श्रीमति भएको नाटक गर्छन् । तीजमा पतिका लागि ब्रत लिएकी केकी मन्दिरमै बेहोस हुन्छे । सविनले बोकेर कोठा ल्याउँछन् । होसमा आएपछि खाना खुवाएको दृश्यसंगै चलचित्र मानवीय संवेदनातर्फ ढल्कन्छ । केहीबेर अघिसम्म हाँसेका दर्शकहरुका आँखा रसाउन थाल्छन् । 
 

प्रेम नगरमा पनि तोते डन(चेतन सापकोटा) लगायतको समूहका कारण भागेर उनीहरु गाउँनजिकैको टेलिफोन बुथमा पुग्छन् । त्यहाँबाट पहिले केकीले आफ्नो घरमा आमा र बुबालाई फोन गर्छिन् । उनले अब आफू गाउँ नै फर्कने र बुबा आमाले जे भन्नु हुन्छ, त्यही गर्ने बचन दिन्छिन् । सविनले पनि आफ्ना बुबा र आमालाई फोन गरेर आफूले अभिभावकले भनेको नमानी भागेर ठूलो गल्ती गरेको बताउँछन् । अब आफू गाउँमै आएर गाई पाल्ने, दुध बेच्ने, गोबर सोर्ने, घाँस काट्ने, बारीमा तरकारी फलाउने कुरा गर्छन् । 
 

गाउँको, परिवारको माया र आफ्नै स्थानमा गरिने पौरखका कुरालाई राम्रोसंग स्थापित गर्न सफल भएको छ चलचित्र भाग् सानी भाग् ।  आर्गेनिक कथा रहेको चलचित्र भाग् सानी भाग्मा दुई मुख्य पात्र केकी र सविन आ–आफ्नो घर फर्किन्छन् । गाउँ फर्केसंगै उनीहरुमा पलाएको माया थप झांगिदै जान्छ । दुवैजना एक अर्कालाई सम्झिरहन्छन् । सविन गाईपालन र कृषि कर्मममा लाग्छन् । केकी बुबा आमाले भनेअनुसार विवाह गर्न तयार हुन्छिन् । आमा पनि केकीलाई पहिले विवाहका लागि जन्ती लिएर आएकै युवकसंग विवाह गर्न तयार हुन्छिन् । तर उनका बुबा(रमेश बुढाथोकी)ले केकीको मनोविज्ञान राम्रोसंग बुझेका हुन्छन् । उनले विवाहको मण्डपमा आउनुअघि छोरीलाई बुबा आमाको खुसीका लागि आफूलाई जिन्दगीभर बेखुसी बनाएर ठूलो गल्ती गरिरहेको बताउँछन् । उनले अगाडि जे जस्तो गल्ती भए पनि अब नगर्न सुझाउँछन् । दोस्रो पटक बेहुली भएर जग्गेमा आइसकेकी उनी फेरी बेहुली भेषमै भाग्छिन् । आमाले समाउन खोज्छिन् । बुबाले आमालाई रोक्छन्, टाउको हल्लाएर चुप बस्न भन्छन् । सानी(केकी) भागेर पूर्व सविनको गाउँ पुग्छिन् । सविन दुध बेचेर घर फर्किदै गरेका हुन्छन् ।  बाटोको चौतारोमा सुस्ताएर बसिरहेकी केकीलाई सविनले देख्छ र साईकलको अघिल्तिर डण्डीमा बसाएर घरतर्फ लिएर जान्छ । यतिमै चलचित्र सकिन्छ पनि । चलचित्रको गीत संगीत, नृत्य र द्वन्द्व पनि राम्रो नै छ । पहिलो हाफमा समावेश गरिएका केही दृश्यहरु निकै लामो र दर्शकलाई जबरजस्ती हँसाउन खोजिएको छ । प्रविधिमा केही कञ्जुस्याईँ गरिएको हो की भन्ने भान पर्छ । समग्रमा चलचित्र ‘भाग् सानी भाग्’ राम्रो चलचित्र बनेको छ । फरक धार र स्वादको यो चलचित्र एकपटक नहेर्ने दर्शक पछुताउने छन् ।