काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्ब(फेड)ले यो वर्षमा तेश्रो पटक ब्याजदर वृद्धि गरेको छ । 

यो निर्णयलाई अमेरिकी अर्थतन्त्रमा बढेको आत्मविश्वासको संकेतको रुपमा लिइएको छ । यहाँ बेरोजगारीको समस्या निकै न्यून बन्दै गएको छ भने आर्थिक वृद्धिदर बलियो र महङ्गी स्थिर रहेको सिएनएन मनीले जनाएको छ । 

अमेरिकी केन्द्रीय बैंकका चेयरमेन जेरोम पोवेल नेतृत्वको नीति निर्माताको टिमले सर्वसम्मत रुपमा फेडेरल फण्ड्स रेटलाई  २ प्रतिशतबाट २.५ प्रतिशत कायम गर्ने निर्णय गरेको हो । 

‘हाम्रो अर्थतन्त्र बलियो छ ।’ चेयरमेन पोवेलले भनेका छन्–‘यो रेट निकै न्यून हो र यसले बलियो अर्थतन्त्रलाई सस्टेन गर्न भरपूर सहयोग गर्ने आशा लिएको छु ।’ 

योसँगै बैंकरहरुले आउने डिसेम्बरमा चौथो पटक दर बढ्ने आशा गरेका छन् । गत जुन महिनामा यो वर्ष फेड दर तीनपटक वा चारपटकसम्म बढाउने भन्ने बिषयमा नीति निर्माता विभाजित देखिएका थिए ।

सन् २०१९ लाई हेर्दा तीनपटकसम्म रेट बढाउनुपर्ने अवस्था आउने र सन् २०२० मा अर्को एउटा रेट बढाउने निर्णय गर्नुपर्ने हुनसक्ने अधिकारीहरुको प्रक्षेपण छ ।

त्यहाँको केन्द्रीय बैंकले रेट वृद्धिको अवस्थालाई ‘समायोज्य’ भन्ने शब्द प्रयोग गरेको छ । यसलाई फेडले ब्याजदर सन्तुलित अवस्थामा रहेको भनी संकेत गरेको रुपमा बुझिएको छ । यसको अर्थ अहिलेको ब्याजदरले अमेरिकी  अर्थतन्त्रलाई न उत्तेजित पार्छ, न त अप्ठ्यारो नै भन्ने हो ।

फेडले अर्थतन्त्र ओभरहिट नहोस् भन्ने उद्देश्यले ब्याजदर लगातार बढाउन चाहेको बताइएको छ । तर, फेडले धेरै चाँडो ब्याजदर भने बढाउन चाहेको छैन, कारण धेरै चाँडो रेट बढाउँदा यसले मन्दीको सुरुवात गर्नसक्ने जोखिम समेत रहेको बताइएको छ । 

तर, अहिलेका लागि चेयरम्यानले फेडदर क्रमशः बढाउन चाहेका छन्, जसले संभावित जोखिमलाई सन्तुलनमा राख्न सकोस् । 

अमेरिकाको केन्द्रीय बैंकले आगामी दिनमा चीनसँगको व्यापार युद्धका कारण कतिपय सामानको भाउ बढ्नसक्ने चिन्ता समेत व्यक्त गरेको छ । तर, यो समस्याले अमेरिकी अर्थतन्त्रमा पर्ने प्रभाव निकै न्यून रहने दाबी गरिएको छ । 

वालमार्ट, कोकाकोला, जनरल मोटर्स, म्याकिज र अन्य कम्पनीहरुले भनेका छन् कि चीनसँगको समस्याका कारण उनीहरु उपभोग्य वस्तुको सामान बढाउन बाध्य बन्न सक्नेछन् । 

फेडले यसअघिको आर्थिक वृद्धिदरको २.८ प्रतिशतको प्रक्षेपणलाई समेत संसोधन गरेको छ । अमेरिकी अर्थतन्त्र सवल भएका कारण यो वर्ष त्यहाँको आर्थिक वृद्धिदर ३.१ प्रतिशत कायम हुने फेडको दाबी छ । 

तर, अर्कोतर्फ फेडका पूर्व चेयरम्यान बेन बर्नेन्ङ्कले सन् २०२० मा भने अमेरिकामा मन्दी आउने चेतावनी समेत दिएका छन् । 

संसारको अर्थतन्त्र हल्लिनसक्ने !
अमेरिकी केन्द्रीय बैंकलाई विश्वभर फेड भनेर चिनिन्छ  । यसले गर्ने सानोभन्दा सानो निर्णयले संसारभरको अर्थतन्त्रलाई हल्लाइदिन सक्छ । फेडको कार्यालय वाशिङटन डिसीमा छ । अमेरिकी केन्द्रीय बैंकका रुपमा फेड स्थापना भए पनि यसले लिने नीतिले संसारका अर्थतन्त्रहरुलाई असर पार्छ । 

फेडरल रिजर्भले बनाउने  नीतिले अरु देशको रोजगारी, सेयर बजार, सुन तथा मुद्रा बजारलाई पनि असर गरिरहेको हुन्छ । अमेरिका संसारकै शक्तिशाली अर्थतन्त्र भएकोले उसको नीतिलाई अरु देशहरुले पनि सुक्ष्म रुपमा लिइरहेका हुन्छन् र पछ्याइरहेका हुन्छन् ।

विश्वका अरु मुद्राको तुलनामा अमेरिकी डलर बलियो र विश्वासिलो मानिन्छ । यही कारण पनि फेडले ब्याज दर तलमाथि गर्दा संसारभरका मुद्राहरुको मूल्यमा तीव्र उतारचढाव हुने गर्छ । अमेरिकी अर्थतन्त्र बलियो हुँदा डलर बलियो हुन्छ भने अन्य देशका मुद्रा डलरसँग तीव्र अवमूल्यनमा पर्ने गर्छन् । यसले कतिपय कमजोर मुलुकको हालत डामाडोल समेत बनाइदिनसक्छ । 

फेडले रोजगारी र मूल्यस्थिरताका लगि ब्याज दर चलाउने काम गर्छ । उसले लिएको नीतिले नेपाललाई सोझो असर नगरे पनि भारत र चीन हुँदै त्यसको असर नेपालमा पनि देखिन्छ । फेडले यो वर्ष तेश्रो पटक गरेको ब्याजदर वृद्धिका कारण नेपालमा समेत सुन र डलरको भाउमा ठूलै प्रभाव पर्न सक्छ । यसले पेट्रोलियम पदार्थको मूल्यमा समेत प्रभाव पार्ने निश्चित छ ।