काठमाडौ । अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैकले आइतबार(आज) पाँच अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलबाट बिक्री गर्ने भएको छ ।
 
केन्द्रीय बैंकले ३० दिनका लागि निक्षेपक संकलन उपकरणको बोलकबोल तथा निश्कासन गर्ने भएको हो । 


अधिक तरलताको अवस्थालाई व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले विभिन्न ऋणपत्र जारी गर्ने गर्छ । यस्तै, नियमित, आकस्मिक तथा संरचनात्मक खुला बजार कारोबारका लागि रिपो, रिभर्स रिपो, सोझै खरिद, सोझै बिक्री, निक्षेप संकलन तथा नेपाल राष्ट्र बैंक ऋणपत्र लगायत उपकरण समेत प्रयोग हुन्छन् । 

कुल ५ अर्ब रुपैयाँको निक्षेप उपकरणको जारी मिति २०७४ असोज २२ गते तोकिएको छ, यो उपकरण मिति २०७४ कार्तिक २१ गते परिपक्व हुने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । 

खरिदकर्ताहरुले घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म खरिद गर्न सकिने उक्त उपकरण राष्ट्रबैक बाहेकका अन्य बैक तथा फाईनान्स कम्पनीहरुमा ऋण प्रयोजनको लागि धितोको रुपमा समेत राख्न सकिन्छ ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी  हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने सूचनामा उल्लेख छ । तर, राष्ट्र निर्देशन बमोजिम कायम राख्नु पर्ने तरलता अनुपातमा भने गणना गर्न पाईनेछ । 

निक्षेप उपकरण खरिदको लागि आईतबार अपरान्ह तीन बजेसम्म अनलाइन बिडिंग सिस्टममार्फत आवेदन दिनुपर्नेछ । ब्याजदर बोलकबोलबाट नै निर्धारण हुनेछ । 

यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बताइएको छ । 

नक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँट गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने केन्द्रीय बैंकले जनाएको छ।

बोल स्वीकृत भएका बोलवालाको खातामा सो उपकरण निष्कासन गरिने दिनमा मौज्दात रकम पर्याप्त नभएमा त्यस्ता बोलवालाको अर्नेष्ट मनिबापतको रकम जफत गरी निजलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाईने बताइएको छ । 

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको केन्द्रीय बैंक स्थित खातामा जम्मा गरिने प्रष्ट्याइएको छ ।