काठमाण्डौ । राजधानीको मुटुमा निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको हत्याको चौबीस घण्टा नबित्दै फेरि अर्का व्यवसायीको पनि गोली हानेरै हत्या भएको छ । 

यो घटना सर्लाहीको हो । जिल्लाको कविलासी नगरपालिका वडानम्बर ३ का २७ वर्षीया सुनचाँदी व्यवसायी सुनिल साहको मंगलबार साँझ गोली हानी हत्या गरिएको हो । 

जिल्लाको पीडारीमा रहेको आफ्नो सुनचाँदी पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कदै गरेका उनलाई गाउँको सुनसान ठाउँमा तीन अज्ञात व्यक्तिको समूहले रोकेर गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

बुुबा नागेन्द्र शाहसँगै घर फर्किरहेका उनलाई अज्ञात समूहले रोकेर झोलामा बोकेको सुनको गरगहना मागेको थियो । गहना दिन नमानेपछि उनीहरुले छोरालाई गोली प्रहार गरेको बुुबाले बताएका प्रहरीको भनाई छ । 

साहको शव पोष्टमार्टमका लागि मलंगवा अस्पताल लगिएको छ । 

यसैबीच, सप्तरीस्थित त्रियुुगा डिस्टीलरीका सुरक्षा गार्डमाथि पनि अज्ञात समूहले मंगलबार साँझ ७ बजेतिर गोली प्रहार गरेको छ । डिस्टीलरीको गेटमा रहेका सुरक्षागार्ड मोरंगको सुन्दरहरैंचा नगरपालिका वडानम्बर ६ का २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।