काठमाण्डौ । सेयर बजारको बिषयमा केपी ओली नेतृत्वको सरकारले लिने नीतिको बिषयमा पर्खाइमा लगानीकर्ता बस्दा बजारमा मंगलबार पनि गिरावटको यात्रा निरन्तर रहेको छ । यो दिन नेप्से परिसूचक १७.१८ अंकले घटी १३९६.७२ अंकमा सीमित बन्न पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ, यो राम्रो संकेत होइन । 

बजारमैत्री नीतिका पक्षपाती मानिएका केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा नियुक्त भएको दिन उछाल आएको बजार पुनः सुुस्त हुुनुमा सरकारले लिने नीतिको पर्खाइमा धेरै लगानीकर्ता रहेका बुझिएको छ । सरकारले सेयर बजार लगायत आर्थिक नीति तथा कार्ययोजना केही दिनमै सार्वजनिक गर्नेछ । त्यसपछि मात्र लगानी बढाउने हिसाबले धेरै लगानीकर्ता बढ्दा र बजारमा सर्टटर्म कारोबारीले थोरै मात्र नाफा हुँदा समेत सेयर बिक्रीको चाप बढाउँदा बजार घटेको हो । 

यति मात्र नभई बजारमा लगानीयोग्य पूँजीको अभाव उस्तै छ । लगानीकर्ताले सहज ढंगले कर्जा पाउन नसक्दा त्यसले बजारलाई थप हिट गरेको विश्लेषकहरु बताउँछन् । राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ओभरड्राफ्ट कर्जामा गरेको कडाईले समेत बजार घटाउन सहयोग गरेको कतिपयको दाबी छ । 

यो दिन होटल समूहमा ३.३५ अंक र अन्य समूहमा ०.३८ अंकले वृद्धि देखियो । बाँकी सबै समूहको सूचकमा गिरावट आयो । 

मंगलबार बैकिङ समूह १५.३९ अंकले घट्यो भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः ११०.५६ अंक, १८.२८ र ३७.५१ अंकले घटे । यस्तै, व्यापार समूह ३.०४ अंक, जलविद्युत समूह २५.४२ अंक, बित्त समूह २.८८ अंक र उत्पादनमूलक समूह ५०.२६ अंकले घटे । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.४ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका १० लाख १९ हजार ६ सय ९० कित्ता सेयर ४० करोड ५८ लाख ९६ हजार ६ सय ७७ रुपैयाँमा किनबेच भयो । 

यो दिन नेपाल इन्स्योरेन्सको ५ करोड ७० लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, ओम डेभलपमेन्ट बैंकको समेत २ करोड १५ लाख बढीको संस्थापक सेयरको कारोबार भएको बजारमा सानिमा बैंकले १ करोड ७५ लाख, प्राइम लाइफ इन्स्योरेन्सले १ करोड ६३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ६१ लख, नेपाल बैंकले १ करोड २७ लाख, ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख, एनएमबी बैंकले १ करोड १४ लाख, सेञ्चुरी बैंकले १ करोड ८ लाख र एनआइसी एशिया बैंकले १ करोड ६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन प्रोग्रेसिभ फाइनान्स लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ५.१० प्रतिशतले बढ्यो । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले समेत ५ प्रतिशतको हाराहारीमा कमाए । 

यो दिन समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो । बोटलर्स नेपाल(तराई) लिमीटेड र अरुण कावेली पावर लिमीटेडको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्न पुुग्यो ।