काठमाण्डौ । हकप्रदको ढोल पिटेर कम्पनीको मूल्य बढाई पछि लगानीकर्ताहरुलाई धोका दिने प्रवृति नेपालको सेयरबजारमा उत्कर्षमा छ । त्यसो त धितोपत्र बोर्डले नयाँ निर्देशिका लागू भएपछि घोषणा भई साधारणसभाले पारित गरिसकेको हकप्रद फिर्ता लिन नपाइने कडा व्यवस्था गरेको छ । तर, यो व्यवस्था कार्यान्वयनमा नआउँदै हकप्रदको ढोल पिट्नेहरुले लगानीकर्तालाई झुक्याउने क्रम अझै रोकिएको छ । 

यही लाइनमा राप्तिभेरी विकास बैंक पनि उभिएको छ । यो बैंकले समेत साधारणसभाबाट पारित भइसकेको २ सय प्रतिशत हकप्रद रद्ध गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । यो बैंकले गत भदौ १७ गतेको वार्षिक साधारणसभाबाट सेयरधनीलाई २ सय प्रतिशत हकप्रद बिक्रीको प्रस्ताव पारित गरेको थियो । पारित प्रस्ताव कार्यान्वयन गर्न छाडेर ज्योति विकास बैंकमा गाभिने सम्झौता गरेको यो बैंकले एकाएक हकप्रद रद्धको प्रस्ताव अगाडि सारेको हो । 

यो विकास बैंकले आगामी असार १७ गते नेपालगञ्जको विनायक गेष्ट हाउसमा वार्षिक साधारणसभा आह्वान गरेको छ । 

साधारणसभाको मुख्य एजेण्डाको रुपमा ९.२५ प्रतिशत बोनस सेयर पारित, भदौ १७ को साधारणसभाबाट पारित २ सय प्रतिशत हकप्रद रद्ध र ज्योति विकास बैंकसँगको एक्वीजिसन प्रस्ताव पारित लगायतका छन् । 

कतिपय सेयरधनीले राप्तिभेरीको फट्याईको बिषयमा छानबिन हुनुपर्ने र धितोपत्र बोर्डले यो घटनालाई विशेष ढंगले हेर्नुुपर्ने माग गरेका छन् ।