काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ मा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नै सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ । 

यो बैंकले समीक्षा अवधिमा नाफालाई बढाएर ५ अर्ब ३२ करोडको लोभलाग्दो उचाई चुमाएको हो । 

निजी क्षेत्रको बैंकमध्ये हालसम्म नवील बैंकले सबैभन्दा बढी ४ अर्ब २९ करोड नाफा कमाएको छ । नवीलको भन्दा १ अर्ब ३ करोड बढी नाफा कमाएर राष्टिय वाणिज्य बैंकले हरेक त्रैमासमा झै पूरा वर्षमा समेत सबैभन्दा बढी नाफा कमाउने बैंक बन्ने सफलता प्राप्त गरेको हो। 

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा ४५.६१ प्रतिशतले फड्को मारेको देखिएको छ। 

यो अवधिमा राबा बैंकले ३ अर्ब ४१ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको देखिएको छ। 

अघिल्लो वर्ष ४ अर्ब ७३ करोडमा सीमित संचालन मुनाफालाई बढाएर बैंकले ६ अर्ब ९३ करोडको उचाई चुमाएको छ भने ९ अर्ब ११ करोडमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर यो वर्ष १० अर्ब २२ करोड पुर्याएको छ । 

यो अवधिमा बैंकले १ खर्ब ९० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ६४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब १७ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५९.१७ रुपैयाँ कायम भएको छ भने ४.२८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर २.९० प्रतिशतमा सीमित पार्ने सफलता पाएको छ । अघिल्लो वर्ष ११.२७ प्रतिशत रहेको क्यापिटल एडेक्वेसी रेसियो यो वर्ष १३.२० प्रतिशत पुगेको छ । 

अघिल्लो वर्ष ६८.६७ प्रतिशत रहेको सीडी रेसियोलाई बैंकले समीक्षा अवधिमा ७४.०८ प्रतिशत पुर्याएको छ । यसले सरकारी स्वामित्वको यो बैंक पछिल्लो समय व्यवसाय विस्तारमा आक्रामक बन्दै गएको देखिन्छ । 

समीक्षा अवधिमा बैंकको आधार दर ५.३८ प्रतिशतको लोभलाग्दो अवस्थामा देखिएको छ भने कस्ट अफ फण्ड पनि निकै न्यून २.७४ प्रतिशत रहेको छ ।