काठमाण्डौ । दोश्रो बजारमा एनआइसी एशिया फेरि चम्किन थालेको छ । 

यो बैंकले दोश्रो बजारमा विगत केही दिनदेखि चमात्कारिक प्रगति गरिरहेको छ । 

कुल ११ दिनको कारोबार अवधिमा एनआइसी एशिया बैंकको सेयर मूल्यमा करिब ०० रुपैयाँको बढोत्तरी भइसकेको छ । 

यो अवधिमा सेयर मूल्यमा करिब २५ प्रतिशतको बढोत्तरी भइसकेको छ । 

मार्च २८ का दिन यो बैंकको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य ३९८ रुपैयाँमा सीमित थियो । मार्च ३१ का दिन प्रतिकित्ता ४०० पुगेको मूल्य अप्रील १ बाट केही तीव्र गतिमा बढिरहेको देखिन्छ । सो दिन प्रतिकित्ता ४१० पुगेको थियो । 

अप्रील ७ सम्म यो बैंकको मूल्य बढेर प्रतिकित्ता ४६८ रुपैयाँ पुगेको थियो । अप्रील ८ र ९ मा बैंकको सेयरमूल्य घटेर क्रमशः ४५८ र ४६६ रुपैयाँमा सीमित बन्न पुगेको थियो । 

अप्रील १० बाट पुनः बढ्न थालेको एनआइसी एशियाको सेयर मूल्य सो दिन ४६६ रुपैयाँको उचाईमा पुगेको थियो । ११ अप्रीलमा अझै बढेर ४६९ रुपैयाँको उचाईमा पुगेको बैंकको मूल्य सोमबार बढेर ४७० पुगेको थियो । 

मंगलबार(आज) सो मूल्य अझै बढेर प्रतिकित्ता ४९२ रुपैयाँको उचाईमा पुगेको छ । यो एक दिन मात्र प्रतिकित्तामा २२ रुपैयाँको बढोत्तरी भएको देखिएको छ । 

किन बढ्दैछ मूल्य ?
देशका सेलिब्रेटी बैंकर अनिलकेशरी शाहले नवील बैंकको प्रतिस्पर्धी बैंक एनआइसी एशिया रहेको र एनआइसीले चमात्कारिक प्रगति गरेको भन्दै अभिव्यक्ति दिएपछि यसले बजारमा एनआइसी एशियालाई चम्काइदिएको हो । 

अधिकांश आर्थिक सूचकमा निकै राम्रो प्रगति गरिहेको यो बैंकले तेश्रो त्रैमासमा पनि राम्रो प्रगति गर्ने र त्यसको आधारमा उसको लाभांश क्षमता समेत बढ्ने अपेक्षाका बीच एनआइसी एशियाको सेयरको भाउ बढिरहेको हो । 

कतिपय बाठा लगानीकर्ताले बजारमा एनआइसी एशियाको मूल्य केही दिनभित्रै इन्भेष्टमेन्ट बैंक सोसरह र केही सातापछि बढेर नवीलकै हाराहारीमा पुग्ने हल्ला पिटाएका कारण समेत एनआइसीको सेयर उठाउने होडबाजी नै चलेको देखिन्छ ।

नवील र इन्भेष्टमेन्टको के छ अवस्था ?
नवील बैंकको दोश्रो बजार मूल्य पनि अप्रील १ देखि बढिरहेको छ । सो दिन प्रतिकित्ता ७१२ रुपैयाँमा कारोबार भएको नवीलको मूल्य मंगलबारसम्म ७६६ रुपैयाँको उचाईमा पुगिसकेको छ । 

इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य अप्रील १ का दिन ५२९ रहेकोमा अप्रील ८ मा ५५९ को उचाई चुमेको थियो । त्यसपछि भने लगातार घटेको देखिन्छ । सोमबारसम्म ५४८ रुपैयाँमा सीमित यो बैंकको मूल्य मंगलबार भने बढेर पुनः ५५९ मै पुगेको छ । 

यसरी हेर्दा अहिलेको बढोत्तरी जारी रहने हो भने एनआइसी एशियाले इन्भेष्टमेन्ट कम्पनीलाई भेट्याउन उति गाह्रो देखिन्न ।  

युनिभर्सलको कन्तबिजोग
यसैबीच, युनिभर्सल पावरको सेयर मूल्य लगातार घटिरहेको छ । दोश्रो बजारमा सूचिकरण भएको केही समयसम्म प्रत्येक दिनजसो नेगेटिभ सर्किट हानेको यो कम्पनीको सेयर मूल्य घटेर अंकित दरभन्दा तल प्रतिकित्ता ९० रुपैयाँमा सीमित बन्न पुगेको छ । रु. १०० हालेर बुझ्दै नबुझी कमजोर कम्पनीमा लगानी गर्दाको पीडा युनिभर्सलको आइपीओ मरिहत्ते गरेर उठाउनेहरुले महसुस गरिरहेका छन् । 

पछिल्लो समय यो कम्पनीका संचालकहरुले आइपीओबाट उठेकोमध्ये १८ करोड भन्दा बढी रकम आफ्नो निजी कम्पनीमा सारेको घटनाले समेत यो कम्पनीको सेयर तल झरेको देखिन्छ । 

*यसअघिको समाचारमा कुल ११ दिनको कारोबार अवधिमा एनआइसी एशिया बैंकको सेयर मूल्यमा करिब १०० रुपैयाँको बढोत्तरी भइसकेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । 
सम्पादक