लागुऔषध र खोटा चलन (नक्कली नोट कारोबार) मा पटक÷पटक पक्राउ परी कैद भुक्तानी गरेका ललितपुर महानगरपालिका–१३ ताल्सिखेलका युनुस अन्सारीले किन नक्कली नोटको कारोबार नछाडेका हुन् ? 

विगतमा कारागारभित्रै गोली हानी हत्याको प्रयास हुँदासमेत गैरकानूनी पेशालाई निरन्तरता दिनुमा खास के छ ? आजमात्रै सात करोड बढीको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि उनीमाथि यक्ष प्रश्नहरु खडा भएको छ ।  

पाकिस्तानबाट कतारहुँदै नेपाल भित्रिएको दुई हजार दरका सात करोड ६७ लाख ९४ हजार नक्कली भारुसहित पक्राउ परेका छन् । कारोवारमा उनका नातेदारसमेत संलग्न हुने गरेको रहस्य पनि खुलेको छ । विशेष सुराकीको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा तीन पाकिस्तानी नागरिकसहित अन्सारी, उनका गाडीचालक तथा सालो पक्राउ परेका छन्।

नक्कली भारतीय रुपैयाँ लिन जाँदा विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ पर्नेमा अन्सारीसहित रौतहटको रमौली वैरिया नगरपालिका–१ का सुयल खान र भक्तपुर सूर्यविनायक नगरपालिका–५ बालकोटका सुदन रानाभाट छन् । खान अन्सारीका सालो हुन् भने रानाभाट गाडी चालक ।

दुई सुटकेशमा पैसासँगै नेपाल प्रवेश गर्ने एक महिलासहित तीन पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४९ वर्षका मोहम्मद अख्तर, ६७ वर्षका नासिर उद्दिन र ३९ वर्षीया नाडीया अन्वर छन् । पाकिस्तानी कतार एयरवेजबाट पैसा ल्याउँदै थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए । 

नक्कली नोट चलनमा पटक÷पटक संलग्न देखिएको महानगरीय प्रहरी कार्यालय काठमाडाँैका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भने आफूलाई फसाइएको दाबी गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको गतिविधि सङ्कास्पद देखिएपछि प्रहरीले उनीहरुलाई निगरानीमा लिएको थियो । त्यही बेला अन्सारी सहितको टोली आएपछि विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको क्षेत्रीले बताउनुभयो । “यो एक व्यक्तिले गरेको होइन, यो सङ्गठनको रुपमा गरेको हुनुपर्छ, विस्तृत थप अनुन्धानबाट थाहा हुन्छ, उनीहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा केलाउने र उनीहरु कहाँ कहाँ गए त्यसको पाटोपनि अनुसन्धानमा छ,” थापाले भन्नुभयो । प्रहरी स्रोतकाअनुसार उनले माग गरेकोभन्दा बढी रकम आएको छ ।

थापाले थप्नुभयो, “युनुस अन्सारी भनेको नेपाल प्रहरीको हरेक समय निगरानीमै रहेको मान्छे हो, भन्ने कुरा जानकारी गराउन चाहान्छु ।” यसको मतलब विगतदेखिकै प्रहरीको निगरानीको प्रतिफल हो आज करोडौँ भारुसहित पक्राउपर्नु ।

पटक-पटक नक्कली नोट कारोबारमा संलग्न 

अन्सारीको पृष्टभूमि सकारात्मक छैन । जाली नोट चलन र लागुऔषधमा मुद्दामा दुई वटा कारागार गरिसकेका व्यक्ति हुन,् अन्सारी । पहिलो पटक विसं २०६६ पुस १८ गते पक्राउ परेका थिए । विसं विसं २०६६ माघ १७ गते कारागार चलान भएकामा विसं २०७० असोज १८ गते कैद सकेर छुटेका थिए ।

दोस्रो पटक २०७० साल माघ १० गते पुनः पक्राउ परेका उनी चैत १७ गते कारागार चलान भएकामा कैद भुक्तानी गरी २०७६ साल फागुन २ गते छुटेका व्यक्ति थिए । यसअघि अन्सारी कुनै एक टेलिभिजन सञ्चालकका रुपमा समेत थिए । उनीमाथि २०६७ सालमा केन्द्रीय कारागारभित्र गोली प्रहार समेत भएको थियो ।

आज बरामद भएको रकम नेपालमा खपत गर्नका लागि ल्याएको नभई अन्यत्रै पठाउने योजना हुनसक्ने प्रहरीको भनाइ छ । पाकिस्तान र भारतबीच अस्थिरता कायम गर्ने यसको उद्देश्य हुनसक्ने प्रहरीको अनुमान छ । यसरी ठूलो परिणाममा रकम आउँदै छ भने थाहा पाएपछि समयमै सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर पक्राउका लागि आवश्यक तयारी गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बताउनुभयो ।

आज महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रहरीले उनीहरुलाई सार्वजनिक गर्दा अन्सारी भने ढाका टोपी लगाएर खुला रुपमा देखिएका थिए । उनीमा कुनै हिनताबोध देखिएको थिएन । उनले माक्स लगाउन नमानेको प्रहरीले जनाएको छ । 

पत्रकारको एक प्रश्नमा उनले आफूले मास्क लगाउनुको अर्थै नभएको प्रतिक्रिया दिए । पत्रकारका अन्य प्रश्नको भने उनले उत्तर दिएनन्, मुसुमुसु हाँसिरहे ।

यस्तो छ कानूनी व्यवस्था 

मुलुकी अपराध संहिताको दफा २५६ मा कसैले जाली नोट मुद्रा बनाउन र उद्योग गर्न नहुने उल्लेख छ । बनाउनेलाई  पाँचदेखि १० वर्षको कैद रु ५० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था छ ।  नक्कली मुद्रा हो भन्ने जानीजानी चलन गराउने नियतले त्यस्तो मुद्रा खरीद वा बिक्री तथा निकासी वा लेनदेन गरेमा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको व्यवस्था छ । यही मुद्दामा उनीहरुको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।