काठमाण्डौ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने भएको छ । यसअघि ३१ जेठका लागि तोकिएको निर्वाचन सरकारले सोमबार मात्रै ९ असारमा सार्ने निर्णय गरेको थियो । तर, त्यस दिन मुस्लिम समुदायको पर्व रमजान परेकाले थप पाँच दिन पछाडि सार्ने तयारी गरकारले गरेको छ ।

स्रोतका अनुसार, निर्वाचनको नयाँ मिति १४ असारका लागि तोकिनेछ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ मिति तोक्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिलाई सँगै राखेर प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह र आयोगका सचिव गोपीनाथ र्मैनालीसँग छलफल गरेका थिए ।

सरकारले ९ असारका लागि तोकेको दोस्रो चरणको निर्वाचन मिति सार्नुपर्ने आवश्यकता देखिएको भन्दै आयोग पदाधिकारीसँग राय मागेका थिए । आयोगले यसमा ग्रिन सिंग्नले दिएको छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।