काठमाण्डौ । कोरोना महामारीको समयमा धेरैजसो कम्पनीहरुले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण अर्थात ‘वर्क फर्म होम’ को सुविधा प्रदान गरिरहेका छन्।

यी कम्पनीहरुमा फेसबुक पनि समावेश छ। दिग्गज कम्पनी फेसबुकले पनि जुलाई २०२१ सम्म आफ्ना सबै कर्मचारीलाई घरबाटै काम गर्ने छुट दिएको छ। 

यतिमात्रै नभई फेसबुकले आफ्नो टिमलाई १ हजार डलर आर्थिक सहायतासमेत प्रदान गर्ने जनाएको छ। जसको सहायताले कर्मचारीहरुले घरमै अफिससम्बन्धी कार्यहरुको तयारी गर्न सक्छन्। 

फेसबुकका लगभग ४८ हजार कर्मचारी मार्च महिनादेखि घरबाटै काम गरिरहेका छन्। कम्पनीले यसअघि वर्क फर्म होमलाई यो वर्षको अन्त्यसम्म बढाउने घोषणा गरेको थियो। तर अब नयाँ घोषणाबाट कम्पनीले यो व्यवस्थालाई सन् २०२१ को जुलाईसम्म लम्ब्याउने घोषणा गरेको छ। 

यसअघि गुगल र ट्विटरले पनि आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्ने छुट दिइसकेको छ। – एजेन्सी