काठमाण्डौ । माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ ।

अब ट्विटरका प्रयोगकर्ताले सन्देशका साथमा इमोजी पनि पठाउन सक्नेछन्। कम्पनीले वेब, आईओएस तथा एन्ड्रोइडका सबै प्रयोगकर्ताका लागि सन्देशसँगै इमोजी पनि पठाउन सक्ने जनाएको छ । फेसबुकले म्यासेन्जरमार्फत सन् २०१७ मै सुरु गरेको यो फिचर अहिले आएर ट्विटरले पनि ठ्याक्कै फेसबुककै नक्कल गरेर इमोजी रियाक्सन फिचर ल्याएको हो। यसको जानकारी ट्विटरले आफ्नो आधिकारिक अकाउन्टमार्फत ट्विट गर्दै दिएको हो ।

ट्विटरको नयाँ इमोजी रियाक्सन प्रयोग गर्न म्यासेजमा आउने मुटु अर्थात् हर्ट बटनमा क्लिक गर्नुपर्छ । जसलाई रियाक्सन बटन पनि भनिन्छ । यसका साथै प्रयोगकर्ताले म्यासेजमा दुईपटक क्लिक गरेर पपअप गरिसकेपछि चाहेको इमोजी छनोट गर्न सक्छन् ।

यो नयाँ फिचरमा सातवटा नयाँ प्रतिक्रिया समावेश गरिएका छन् र सबै प्रकारका प्रयोगकर्ताले यसको उपयोग गर्न सक्नेछन् । यो फिचर टेक्स्ट र मिडिया अट्याच्मेन्टका साथमा पनि गर्न सकिन्छ ।

ट्विटरले आफ्ना एन्ड्रोइड प्रयोगकर्तालाई एन्ड्रोइड प्लेटफर्म युजर्स ट्विटर एप अपडेट नगर्नसमेत चेतावनी दिएको छ । ट्विटरका अनुसार यसको लेटेस्ट भर्जन इन्स्टल गर्दा प्रयोगकर्ताले समस्याको सामना गर्नुपर्ने हुन सक्ने जनाएको छ । कयौँ ट्विटर प्रयोगकर्ताले यो एप अपडेट गर्दा एप नै क्र्यास भएको बताएका छन् ।

कम्पनीका अनुसार एपको ८.२८ भर्जनमा एउटा बगका कारण यस्तो समस्या आइरहेको छ । यो समस्यालाई समाधान गर्न कम्पनी लागिपरिरहेको जनाएको छ । – एजेन्सी