काठमाण्डौ । सोशल मिडिया प्लेटफर्म फेसबुकले पछिल्लो दिनहरुमा आफ्नो डिजिटल करेंसी 'लिब्रा' लञ्च गर्ने घोषणा गरेको थियो । फेसबुकले लिब्राको माध्यमबाट विश्वभरको इ–कमर्स विजिनेशलाई बढावा मिल्नेछ र विज्ञापनको माध्यमबाट धैरैभन्दा धैरै कमाइको अवसर सिर्जना हुने दाबी गरेको छ । 

फेसबुकले डिजिटल करेन्सी लिब्राका लागि भारतमा पेपाल, उबर, स्पाटिफाइ, भोडाफोन समेत गरी २८ वटा कम्पनीसँग सहकार्यको सम्झौता गरिसकेको छ । नेपालमा पनि यो सहकार्य संभव भए पनि फेसबुकलाई दर्ता गर्नैपर्ने बाध्यता सिर्जना नगरिँदा यस्तो अवसर नेपालीहरुले तत्काल नपाउन सक्छन् । 

लिब्रा लञ्च गर्न फेसबुक निरन्तर गृहकार्यमा जुटिरहेको छ । फेसबुकले करेन्सीका लागि गभर्निङ बडि पनि तयार गरिसकेको छ र यसका लागि एउटा काउन्सिल पनि गठन गरिसकेको छ । लिब्राको तर्फबाट नन् प्रोफिट असोसिएसनका २१ सदस्यहरुले आधिकारिक रुपमा हस्ताक्षर पनि गरिसकेका छन् । लिब्रा असोसिएसनका अनुसार डिजिटल करेन्सीका लागि २१ कम्पनीका अलावा १८० थप फर्म तथा कम्पनीहरुले पनि चासो देखाइरहेका छन् । 

तथापि हाल फेसबुक यसको प्राइभेसीलाइ लिएर कानुनी प्रक्रियाबाट गुज्रिरहेको छ । डाटा प्राइभेसीको विवादसंग पहिल्यै देखि नै जुधिरहेको फेसबुक अब करेन्सी बनाउन तत्पर रहेको छ, जसले गर्दा बैंक, नेशनल करेन्सी  तथा युजर्सको गोपनियता भंग हुने खतरा हुन सक्छ । तथापि फेसबुकले यसले युजर्सको बैंक डिटेल तथा पेमेन्टसंग सम्बन्धित सारा जानकारीहरु सुरक्षित राख्ने बताउँदै आइरहेको छ । 

फेसबुकका अनुसार उसको यो डिजिटल करेन्सी लिब्राले, ब्लकचेन टेक्नोलोजीमा आधारित भई काम गर्नेछ । यसको माध्यमबाट मानिसहरुले पैसाको कारोबार गर्न सक्नुका साथै पैसाको लेनदेन सजिलैसँग गर्न सक्नेछन् । 

फेसबुकका अनुसार ब्लकचेन प्रविधिलाई अर्काे वर्षसम्म आम मानिसका लागि जारी गरिनेछ । ब्लकचेन प्रविधिलाई फेसबुकको सबै प्लेटफर्म मेसेञ्जर, वाट्सएप, तथा इन्स्टाग्रामबाट प्रयोग गर्न  सकिनेछ । 

फेसबुकले यो डिजिटल करेन्सीबाट आम मानिसहरुले थुप्रै फाइदा लिनसक्ने दाबी गर्दै आइरहेको छ । फेसबुक मेसेञ्जर तथा वाट्सएपमा पैसाको लेनदेन गर्न सकिनुका साथै डिजिटल वालेट एपबाट डिजिटल करेन्सीको कारोबार ट्रयाक गर्न सकिनेछ । यसका साथै क्रिप्टोकरेन्सीका रुपमा यसलाई खरीदबिक्री पनि गर्न सकिनेछ र यसको कारोबारमा कुनै पनि अतिरिक्त शुल्क लाग्ने छैन । यसलाई परम्परागत मुद्रा रुपियाँ, डलर आदिसँग पनि साट्न सकिनेछ ।